अत्यधिक चिसोले प्रदेश नम्बर २ मा चार जनाको मृत्यु

अत्यधिक चिसोले प्रदेश नम्बर २ मा चार जनाको मृत्यु

काठमाडौँ । केही दिनयता एकाएक चिसोका कारण प्रदेश नम्बर २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ। मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

यस्तै सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ। शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन्। चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार