बाँके कारागारका कैदीबन्दीको स्वास्थ्य र सुरक्षाको चिन्ता

बाँके कारागारका कैदीबन्दीको स्वास्थ्य र सुरक्षाको चिन्ता

नीरज गौतम/रासस काठमाडाैं

कोरोना भाइरस (कोभिड-१९) का कारण बाँके जिल्ला कारागारका कैदीबन्दीको स्वास्थ्य सुरक्षाको चिन्ता  बढेको छ।

कैदीबन्दीको आचरण सुधारका लागि २००० सालमा स्थापना गरिएको यो कारागारमा अहिले ८२० कैदीबन्दी छन्।

सो कारागारका जेलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार कारागार विभागबाट ३०० कैदीबन्दी राख्न सकिने क्षमता तोकिएको छ। क्षमताभन्दा अधिक कैदीबन्दी राखिएपछि अहिले उनीहरूको स्वास्थ्य सुरक्षाको चुनौती पनि बढेको छ।

“कैदीबन्दीको खानपानदेखि सबैखाले सुरक्षाको चुनौती पहिले पनि थियो। तर, कोभिड-१९ को महामारी विश्वव्यापी भएपछि उनीहरूको स्वास्थ्य र सुरक्षा चिन्ता बढेको हो”, जेलर श्रेष्ठ भन्छन्। उनका अनुसार ५२ महिला, दुई नाबालक र ७६६ पुरुष गरी ८२० कैदीबन्दी कारागारमा छन्।

कारागारका स्वास्थ्यकर्मीले उनीहरू सबैको ज्वरोलगायत कोभिड-१९ काे लक्षणको जाँच गरिसकेका छन्। कारागार प्रशासनले ज्वरो जाँच्ने उपकरण आफैं खरिद गरेको जनाएको छ।

कारागारले अहिले कैदीबन्दीसँग उनीहरूका आफन्तसँगको भेटघाट रोकेको छ भने आफन्तीले ल्याएको खाना स्यानिटाइज गरेर मात्र दिने गरिएको छ। कुनै कैदीबन्दी बिरामी भएमा तुरुन्त नजिकको भेरी अस्पताल लग्ने गरिएको जेलर श्रेष्ठले बताए। अहिलेसम्म काेरोनाको संक्रमणबाट सबै कैदीबन्दी सुरक्षित भए पनि कारागारले धान्नै नसक्ने संख्यामा कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य चिन्ताको विषय जटिल देखिएको छ।

यसैगरी, नेपालगन्ज-१० मा मानववस्तीको बीचभागमा रहेको बाँके कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन्।

कारागारमा कैदीको संख्या पनि बढ्दै गएको छ। कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर छ।

कारागारबाट निस्केको फोहर कारागार हाताभित्र फालिन्छ। ढल निकासको व्यवस्था छैन। फोहर बढी भएकोले कैदीहरु पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ। फोहरकै कारण कैदीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना वस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ।

कारागारको बाहिर क्षेत्रमा मानववस्ती बाक्लिदै जानु तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँकेको गनापुरमा खुल्ला कारागार निर्माण कार्यसमेत शुरू गरेको छ।

आठ बिघा क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण अहिले रोकिएका छन्। यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा क्षेत्रीय कारागारको निर्माण कार्य थालिएको छ। यी दुवै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने समय निर्धारण गरिएको छ। –

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार