तीन हप्ता देखि चौरजहारी अस्पताल जाने मुल बाटो बन्द

तीन हप्ता देखि चौरजहारी अस्पताल जाने मुल बाटो बन्द

मुसिकोट । अस्पताल जस्तो संवेदनशिल ठाउँमा जाने मुल बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि कहिकतैबाट खुलाउने प्रयास भएको छैन । प्रशंग, गत चैत २६ गते देखि रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने मुल बाटो बन्दको हो ।

अस्पताल जाने बाटोमा केहि स्थानीयले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडिमा अस्पताल ल्याईने बिरामीहरुले थप सास्ती खेप्नु परेको छ । तर, यस बारेमा स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले कुनै पनि पहल नगरेको स्थानीयको गुनासो रहेको छ ।

अस्पताल आउने मुल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडिहरु कि लामो बाटो घुमेर आउनु पर्ने कि त गाडिबाट झारेर बोकेर अस्पताल भित्र ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका प्रशासक डिल बहादुर गिरीले बताउँनुभयो । आफ्नो घर तथा पसल पायक स्थानबाट बाटो नबनाएको झोकमा केहि स्थानीयले बाटो अबरुद्ध गरेको प्रशासक गिरीले जनाउँनुभयो ।

स्थानीयहरुले लामो समयसम्म अस्पतालले मुल प्रवेशद्वारको टुंगो नलगाएको र चलनचल्तीमा रहेको गोरेटो बाटो बन्द गरेकोले निकाशको लागि नयाँ बाटो बन्द गरेको बताएका छन् । पुरानो बाटो साँघुरो भएपछि नयाँ बाटो खोल्नु राम्रो भएपतापनि पुरानो बाटोलाई बन्द गरेर अस्पतालले स्थानीय व्यापार व्यवसायलाई वेवास्ता गरेको स्थानीयको आरोप छ ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर बाटो सञ्चालन गरिने बताउँनुभयो । यस अघि बाटो अवरुद्ध भएको जानकारी आफुलाई प्राप्त नभएको समेत उहाँले जनाउँनुभयो । उहाँले आजै छलफलको लागि समन्वय गर्ने समेत बताउनुभयो ।

सुरुमा अस्पताल नजिकैको बजार एरियामा सानो बाटो चल्तिमा रहेको थियो । अस्पतालमा बिरामीको चाप बढेसँगै एम्बुलेन्स, गाडि समेतको आवाज जावत बढेपछि स्थानीयकै सहमतिको अर्को बाटो सञ्चालन गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार