कोरोना कहरका बिच रुकुम पूर्वमा परीक्षा संचालन, सरकारको निर्णय वेवास्ता

कोरोना कहरका बिच रुकुम पूर्वमा परीक्षा संचालन, सरकारको निर्णय वेवास्ता

रुकुमकोट । कोरोना भाईरस संक्रमणदर बढिरहेको बेला बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई वेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले बिद्यालयहरुमा परीक्षा संचालन गरेको छ । नेपाल सरकार र जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसीसीएमसी) को निर्देशन र निर्णयलाई समेत अवज्ञा गर्दै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा बिद्यालयमा कक्षा १० को ल्याकत परीक्षा संचालन गरिरहेको छ ।

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायीक र १ ओटा संस्थागत विद्यालयमा हिजो बिहिबारबाट कक्षा १० को ल्याकत परिक्षा सुरु गरिएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले बताउनुभयो । सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परिक्षा सञ्चालन भइरहेको उहाँले बताउँनुभयो ।

परीक्षा दिन आएका बिद्यार्थीहरुले डराई डराई बिद्यालयमा आउने गरेको बताएका छन् । उनीहरुले परीक्षामा उपस्थित नभएमा फेल भईने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् । सबैतिरका बिद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले बिद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई वेवास्ता गरेको समेत उनिहरुले जनाएका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताउनुभयो । आजैबाट कोरोना परिक्षणको कार्यलाई तिब्र पार्ने र संक्रमित भेटिएमा स्थानीय प्रशासन ऐनमा टेकेर बन्द गराउँने समेत उहाँले बताउँनुभयो ।

त्यस्तै जिल्लाको भूमे गाउँपलिकाले पनि यहि वैशाखको १९ गतेबाट परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार