नेपाली राजनीतिको गिनिज बुके छलाङ्

नेपाली राजनीतिको गिनिज बुके छलाङ्

मुलुकको समग्र शक्ति कोरोना महामारी नियन्त्रणमा जुट्नुपर्ने बेला अप्ठेरोमा फसाइएको नेपाली राजनीतिलाई निकास खोज्न अभिशप्त बनाइएको छ । अभिशप्त राजनीतिले केही सम्भावना र अनुमानलाई समेत सतहमा ल्याएको छ ।

काठमाडौंको अँध्यारो आकाश धुम्म चिसो छ । बेला बेला पानी वर्षिएको छ तर राजनीति गिनिज बुकमा ‘वल्र्ड रेकर्ड‘मा दर्ज हुनेजस्तो छ । ‘कर्फ्यु’को साँघुरो जीवन, काठमाडौंको मौसम भोगेर अनुमान गर्दा देशैभर आकाश  खुलेको छैनजस्तै लाग्छ । प्रतिदिन कोरोना महामारीको चपेटमा हजारौं परेका दुःखद जानकारी सार्वजनिक भएको छ ।

केही दिनदेखि सयौंले दिनहुँ जीवन गुमाइरहेका छन् । महामारी नियन्त्रण कार्यमा सरकार असफल भएको छ । यस्तो बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली मञ्चित राजनीतिक महामारी रोगकै शैलीमा संक्रमित भएको  छ ।

महामारीको असह्य पीडा निवारण गर्ने उपचार सामग्रीको अभावले जीवन बिताइरहेका पीडित नागरिकप्रति सरकारको संवेदनशीलता शून्यमा छ । राज्यका तर्फबाट उपचार सामग्री उपलब्ध गराउन नसक्दा दर्जनौ अस्पतालले नयाँ बिरामी भर्ना नलिने सार्वजनिक सूचना दिइसकेका छन् ।

छिमेकी भारतमा असाध्य फैलिएको महामारीभन्दा पनि खराब अवस्थामा नेपाल पुगेको जनस्वास्थ्यविज्ञले बताइरहेका छन् । सारै दुःखद बेला हो यो । मौसम चीसो तर राजनीति ओली ‘प्रताप’को तापमा छ । मौसम सफा र राजनीति सङ्लिने कहिले कसोरी हो थाहा छैन । ‘निरो’ शैलीको सरकारी राजनीतिले देश ‘तबाही‘तिर धकेलिँदै छ । सरकारले बेला छँदै कुनै तयारी नगरी सत्तामा अलमस्त रहँदाको असह्य पीडा भोग्न बाध्य बनाइएका छन् नागरिक ।

संक्रमित नागरिक जीवनको त्राण खोज्न सडक पेटीमा भौँतारिरहेका छन् । बाँचेकाहरु आफन्त गुमेको दृश्य निःसहाय हेर्न विवश छन् । जनताको यति ठूलो दर्दमा मलम लागाउन सहायक हुनुपर्ने बेला कम्युनिस्ट सरकार राजनीतिको विकृत धन्दा चलाएर बाँकीको ध्यान अन्यत्र मोड्न उद्यत छ । सबैको सहमति र सहकार्य जुटाएर महामारी रोक्न नेतृत्वदायी सम्पूर्ण प्रयास गनुपर्ने बेला सरकारी रबैया देश र नागरिकको पीडामा नुनचुक छर्कने खालको छ ।

मौसमको छनकले केही दिनपछि नागरिक बाढी, पहिरोजस्ता प्राकृतिक विपद्ले थप प्रताडित हुने देखाउँदै छ । सरकार भने यस्ता दुःखदायी परिणामबाट नागरिकलाई जोगाउनेतिरभन्दा कुर्चीको मात्रै सुरक्षा गर्ने दम्भी स्वार्थमा तल्लीन छ ।

निषेधाज्ञा(कर्फ्यु ) र ‘लकडाउन‘को शून्य अँध्यारोमा सरकार रमिता गर्दै छ ।

महामारीकै बीच अँध्यारोतिर धकेलिएको राजनीतिमा खोजिने सम्भावना र अनुमानमा गठबन्धनको बहुमत सरकार बन्न सक्छ कि सक्दैन ? भन्ने पहिलो हो । बने कसरी ? दलीय गठबन्धनको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिन आज बिहीबार साँझ नौ बजे सकिनेछ ।

गठबन्धनको बहुमत साबित गर्न चाहने दलहरुले पूर्व नजिरअनुसार केही दिन थप मागे सम्भवतः राष्ट्रपतिले थपिदिने छैनन् ।

उनलाई ठूलो दलको हैसियतमा अल्पमतको सरकार एमालेका केपी शर्मा ओलीको नेतृत्वमा दिने हतार छ । जनता समाजवादी पार्टी (जसपा) ‘अनिर्णित’ विभाजित छ । अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नयाँ गठबन्धनतिर, महन्थ ठाकुर समूह ओली सरकारतिर । यी दुवै समूह एकै धारमा उभिने सम्भावना यो पंक्ति कोर्दासम्म देखिएको छैन । के जसपा विभाजित नै हुने हो ?

सग्लो जसपाको साथ नहुन्जेल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको गठबन्धनको प्रयत्नलाई संसद्मा आवश्यक मत (१३६) पुग्नेछैन । यिनको गठबन्धन सरकार बनाउने प्रयास तुहिनेछ ।

रह्यो, प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रतिनिधि सभा बैठकमा अनुपस्थित एमालेको  नेपाल, खनाल समूहको राजीनामा निर्णयले गठबन्धको प्रयास सफल र सरकार बन्नसक्छ । तर, यो समूह ओलीलाई गलाएर एकता जोगाउने उद्देश्यमा ध्यान बढी दिँदैछ ।

खनाल, नेपाल समूहले बिहीवारै सांसद् पदबाट राजीनामा दिने चर्चा पनि सुनिदैछ र यो प्रबल पनि देखिँदैछ । आए कति संख्यामा राजीनामा आउने ? गठबन्धनको बहुमत पुग्ने गरी राजीनामा आएमा सरकार फेरिनेछ । अन्यथा, संसद्को ठूलो दलको हैसियतमा केपी शर्मा ओलीकै नेतृत्वमा सरकार पुनर्गठन हुनेछ ।

अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष ओलीले कदम पछि सारेनन् भने नेपाल खनाल समूह राजीनामा दिने बाध्यतामा पुगेको देखिन्छ छ ।

यस समूहको राजीनामा र जसपाको दुई कित्ता कायमै रहे, के यी दुई दल विभाजित हुने सम्भावना हो ? वा सग्लो जसपाले कांग्रेस गठबन्धनलाई साथ दिए एमालेको विभाजन हाललाई टर्ने हो कि ? के चाहन्छ जसपा अर्थात् भूतपूर्व राजपा वा महन्थ समूह ? भनिन्छ नेपाल खनाल समूह महन्थ समूहको निर्णय पनि पर्खँदै छ ।

ओली यथावत् हैसियतमै रहे भने उनले अब सिध्याई दिने खनाल नेपाल समूहलाई नै हो । माओवादी केन्द्रलाई किनारा लगाइसके र एमाले ब्युँताए ।

आफू र आफ्नो समूहको मनपरीलाई प्रतिरोध गरिरहेको यो समूहलाई पनि किनाराकृत छिन्नभिन्न पार्नु छ अध्यक्ष ओलीलाई ।

खनाल नेपाललाई पन्छाएर निष्कण्टक हुने सोख देखिन्छ उनमा । सूर्य चिन्ह र एमाले नाम ओली समूहले हात पारिसक्यो ।
नेपाल, खनाल समूह चुपचाप एमालेमै बसे ओलीले अहिले कुनै कारबाही गर्ने हैसियत राख्दैनन् ।

अल्पमत सरकारले तीस दिनभित्र पुनः विश्वासको मत लिन यो समूहको तबसम्म उपयोग गर्नेछन् । खनाल, नेपाल समूहको साथ पाए ठूलो दलको अल्पमत ओली सरकार जसपा महन्थ समूहको समर्थनमा गठबन्धनको बहुमत विश्वास प्राप्त सरकारमा रुपान्तरित हुने सम्भावना छ ।

त्यसपछि बल्ल छानीछानी सुरु हुनेछ एमालेमा कारबाही र चुनावी कुरा ।

खनाल नेपाल समूहका तीन दर्जन जति सांसद जो अहिले देखिएका छन् तिनमा एक तिहाइ कारबाही वा चुनावबाट सिध्याइने छन् । अरु रानो हराएको मौरीजस्तै आफ्नै शरणमा आउने वा राजनीतिबाट बिलाउने ओली समूहको विश्वास छ । यही कुरा बुझेको नेपाल खनाल समूह सशंकित र राजीनामा दिएर अस्तित्व रक्षा गर्ने मनःस्थितिमा पुगेको अनुमान छ ।

जतिसुकै एकताको कुरा गरे पनि अध्यक्ष ओली समूहका केही नेता खनाल, नेपाल समूहलाई एमालेमा राख्न इच्छुक छैनन् ।

कारण उनीहरुको प्रतिस्पर्धा बढ्नेछ । थोरै भए पनि नेपाल खनाल समूहमा ‘क्वालिटी’ का नेता छन् । जस्तै भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई वेदुराम भुसाल आदि । यिनीहरुसँग स्पर्धा गर्न ओली समूहमा योग्य कमै छन् । सुवास नेम्बाङ, ईश्वर पोखरेल हुन् ओली समूहका शीर्ष ।

ईश्वर पोखरेल हाल ‘कुचोले गर्ने काम हावाले गर्दैछ’ जस्तो मुडमा मौन छन् । एकताप्रति उनको चिन्ता, प्रयत्न अहिले कतै देखिएको छैन । नेम्बाङ ‘मुखमा रामराम बगलीमा छुरा’ को दृष्टान्त त संविधान सभा अध्यक्ष हुँदा संविधानको भावनामाथि बोलेको आफ्नै कुराविपरीत ओलीको संविधान विरोधी (अदालतले पुष्टि गरेको ) कदमलाई समर्थन दिएबाटै प्रष्टिएका छन् । यो तहमा ओर्लिएको व्यक्ति प्रतिस्पर्धीलाई भित्र्याउन उदार, इमानदार हुने कल्पना गर्न सकिँदैन ।

यस कारण अध्यक्ष ओलीले खनाल नेपाल समूहलाई एकतामा ल्याउन सक्ने देखिँदैन । कान फुक्दाफुक्दै त्यही कान समाएको उनको समूहले यसो गर्न दिने पनि छैन र ओली स्वयंको दम्भी स्वभावले समेत यो काम सहज सम्भव छैन । मात्र पर्ख हेर अनि खनाल नेपाल समूहलाई सिध्याऊमा ओलीले समय खेल्नेमात्र हो । यही तथ्यले झस्किएको निष्कर्ष यो समूहको राजीनामा हुनसक्छ ।

राजीनामा पछि बन्ने गठबन्धन सरकारसँगको राजनीतिक लेनदेन र चुनावसम्मको सहकार्यमा नेपाल खनाल समूहको अस्तित्व नेपाली राजनीतिमा जोगिन सम्भव छ । सम्भावनामध्ये परिणाममा जे आउला तर एमाले सँगै रहे पुनः ओली गठबन्धनको बहुमत सरकार बन्नसक्छ ।

हेर्दै जाऊँ, धेरै दिन छैन यी सबै परिणाम पर्खन । महामारी थामिन र जनताको दर्द कम हुन भने अलि दिनको प्रतीक्षा पछि पनि के होला अहिले नै भन्न सकिँदैन ।

कांग्रेससँगको गठबन्धनमा सरकार बने उसले पनि धेरै गर्नसक्ने छैन । कोराना महामारीलगायत विपद्बाट नागरिकलाई सुरक्षित गर्न समर्पित हुने, कम्युनिस्ट ओली सरकारले ‘डिरेल’ पारेको लोकतन्त्र र संविधानलाई लिकमा ल्याउने, सुशासनको आशा जगाउने, भ्रष्टाचार र आर्थिक बेथिति रोक्ने सँगै आवधिक निर्वाचन गराउने हो । यति गर्नसके अहोभाग्य ।

अन्यथा, यही मनपरी गर्ने ओली सरकारको निरन्तरतामा चुनाव होला, गराउला वा लामो समय अध्यादेशले नै चलाउँछ कि ?

चुनाव गराए कस्तो ? निश्चित छैन । एमाले अध्यक्ष ओली नेतृत्वमा गठबन्धन सरकारले बहुमत साबित गरे नेपाली राजनीतिमा अनौठो नजिर स्थापित हुनेछ ।

दुई तिहाइको सरकारबाट ओर्लिएका प्रधानमन्त्री ओली  आफैँले मारेको तर अदालतबाट पुनर्जीवित संसद्ले अविश्वास गरेको ओलीलाई पुनः गठबन्धनमा विश्वास प्राप्त भए अनौठो परिघटना मानिने नै छ ।

जीवित, मूच्र्छित र पुनःजीवित एउटै त्यही संसद्मा दुई तिहाइ, अनि अविश्वास, त्यसपछि पुनः विश्वास ? महामारी विपद्बीच नेपाली राजनीतिको यस्तो परिहास परिणाम वल्र्ड बुक गिनिजमा दर्ज हुने छलाङ मानिने नै छ । कसैले दर्ता गराए ! बाह्रखरीबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार