रुकुम पूर्वका सबै शिक्षकहरु कोरोना बिरुद्ध फिल्डमा

रुकुम पूर्वका सबै शिक्षकहरु कोरोना बिरुद्ध फिल्डमा

रुकुमकोट । कोरोना भाइरसको महामारीबाट बिद्यार्थी तथा अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका सबै शिक्षकहरु एकजुट भएर लागि परेका छन् ।

जिल्लाभरका सबै शिक्षक कर्मचारीहरुबाट एक दिन बराबरको तलब तथा भत्ता संकलन गरेर आवश्यक स्वास्थ्य सामाग्रीहरु खरिद गरी फिल्डस्तरमा खटिएको शिक्षक महासंघ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि शिक्षक महासंघले निर्णय गरेरै सम्बन्धित बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले कोरोना कहरको जटिलता, बच्ने उपायहरु लगायत सचेतनाका कुराहरु सहित आ आफ्नो बिद्यालयका अभिभावकहरुलाई फोन तथा एसएमएस गर्ने कार्य निरन्तर भइरहेको समेत अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

महासंघले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि रेडियो मार्फत सूचना जारी गरिरहेको छ भने जिल्लाका बिभिन्न भूभागहरुमा जनचेतनामुलक सन्देश, पर्चा पम्पलेट तथा आवश्यक सामाग्रीहरु सहित शिक्षक कर्मचारीहरु परिचालित छन् ।

समाजको आशा र भरोशाको केन्द्र मानिने शिक्षकहरु मार्फत जिल्लामा नवप्रवर्धनात्मक कार्य भैरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । उहाँले सबै शिक्षक संगठनहरु एकजुट भई जिल्लामा कोरोना बिरुद्धको अभियान सशक्त पारेको जनाउँनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर टोलटोेलमा पुगेका शिक्षक कर्मचारीहरुको यस कार्यको उच्च प्रशंसा भएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार