विद्यालयमा अझै पठन पाठन गर्ने अवस्था छैन : प्रजिअ गैरे

विद्यालयमा अझै पठन पाठन गर्ने अवस्था छैन : प्रजिअ गैरे

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे

मुसिकोट । रुकुम पश्चिममा कोरोना महामारीसँगै ठप्प विभिन्न क्षेत्र विस्तारै लयमा फर्कँदैछन्। यातायात खुल्यो। बजार खुल्यो। बजार खुलेसँगै चहलपहल बढेको छ। यस्तोमा चासो बढेको छ विद्यालय कहिलेबाट खुल्छन् भनेर। साउनको दोस्रो साता भइसक्दा अहिले सम्म सामान्य हिसाबले पठन–पाठन सुरु हुन सकिरहेको छैन।

रुकुम पश्चिमका केहि स्थानीय तहहरुले सम्बन्धित वडाको निर्णय अनुसार विद्यालयमा पठनपाठन गर्न सक्ने परिपत्र गरेका छन तर पनि अन्योल भने कायम रहेको छ ।  जिल्ला कोभिड ब्यबस्थापन समितिका अध्यक्ष एवं रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले अहिलेको अवस्थामा विद्यालय खुलाउने सक्ने अवस्था नभएको जानकारी दिनुभएको छ ।

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर केहि मात्रामा घटेको भए पनि जोखिम कायमै रहेकाले विद्यालयहरुमा भौतिक रुपमा पठनपाठन गर्न सक्ने अवस्था नभएको  प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभएको छ । उजेली न्यूजसँग को कुराकानीमा प्रमुख जिल्ला अधिकारी गैरेले भन्नु भयो तोकिएका परीक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न पाईन्छ । उहाँले भन्नुभयो गृह मन्त्रालयबाट विद्यालय सञ्चालन सम्बन्धमा कुनै पनि परिपत्र नआएकोले विद्यालयमा भौतिक रुपमा पठन पाठन गर्न पाईने छैन ।

प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार हालसम्म रुकुम पश्चिममा २६ सय ६५ जना संक्रमित भएकोमा ३३ जनाको मृत्यु भएको छ । हाल ७९ जना सक्रिय संक्रमित रहेकोमा ७७ जना होम आइसोलेशनमा रहेको र २ जनाको अस्पतालमा उपचार भैइरहेको छ ।

यस्तै जिल्लाको सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित रहेका छन । मुसिकोट नगरपालिकामा ३५, त्रिवेणी गाउँपालिकामा १६, चौरजहारी नगरपालिकामा १५ र आठविसकोट नगरपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन । बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा परिक्षण नभएकोले संक्रमितको संख्या शुन्य रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार