भदौमै महाधिवेशन गर्न कांग्रेसका जिल्ला सभापतिहरूको माग

भदौमै महाधिवेशन गर्न कांग्रेसका जिल्ला सभापतिहरूको माग

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले भदौमै पार्टीको महाधिवेशन गर्न माग गरेका छन्। भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिने भएकोले त्यसअगावै पार्टीको १४ औं महाधिवेशन गरी संकट टार्न जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएका छन्।

काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार र मंगलबार जिल्ला सभापतिहरू भेला भएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले समयमै महाधिवेशन गर्न जोड दिएको छ।

भेलामा ३८ जना जिल्ला सभापतिहरू भौतिक रूपमा र १३ जना जिल्ला सभापतिहरू भर्चुअल रूपमा सहभागिता जनाएका थिए। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले समयमै महाधिवेशन गर्न नेतृत्वलाई सुझाव र दवाव दिइएको बताए।

विवादित ठाउँमा १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट वडा अधिवेशन गर्ने विकल्प रहेको पनि जिल्ला सभापतिहरूको भनाइ थियो।
कांग्रेस काभ्रे सभापति मधु आचार्यले क्रियाशीललगायत विवाद देखाएर महाधिवेशन सार्न नमिल्ने बताए।

भेला समापन समारोहमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, सुजाता कोइराला, शेखर कोइराला, गगन थापालगायत नेताहरू पनि पुगेका थिए।

उनीहरूले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गर्ने गरी नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। यसअगाडि बसेको पौडेल पक्षको केन्द्रीय समिति बैठकले पनि भदौ १६ मै महाधिवेश गर्नुपर्नेमा जोड दिएको थियो।

कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। तर देउवाले विधानअनुसार नै विशेष परिस्थितिका लागि एक वर्ष म्याद थपेका थिए। पछिल्लो समय उनले संविधानको सहारा लिएर छ महिना म्याद थपेका थिए जुन भदौ २३ मा सकिँदैछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार