‘फेरि पत्रकारिता गरेँ भने तालिबानीले मारिदिने भनेका छन्’

‘फेरि पत्रकारिता गरेँ भने तालिबानीले मारिदिने भनेका छन्’

काबुल । देशको आकाशमा ‘मृत्युको बादल’ मडारिरहेको छ । तालिबा सत्तामा आएसँगै गरिरहेको काम छोड्नुपरेको छ । यस्तो संकटको बेला जिम्मेवारी सम्हाल्नुपर्ने पिताले छोडेर गए, त्यो पनि सौतेनी आमासँग ।

यो अफगानिस्तानकी एक महिला पत्रकारको हृदयविदारक अनुभव हो । अनि डर, त्रासले भयभीत अफगान नागरिकहरूको प्रतिनिधि व्यथा पनि । “आमा, सात दाजुभाइ, तीन दिदीबहिनीहरू र मलाई त्यागेर बाबु दोस्रो श्रीमतीसँग उद्धार हुनुभयोे”, १८ वर्षीय जलाश (नाम परिवर्तन) ले भनिन् ।

“फेरि पत्रकारिता गरेँ भने तालिबानले मलाई मारिदिने भनेका छन्”, उनले भनिन्, “म मेरो परिवारको जीवन बचाउन चाहन्छु । यो मेरा लागि मुटु धुजाधुजा पार्ने कुरा हो । भाइबहिनीहरू विद्यालय र विश्वविद्यालय जान चाहन्छन् । हामी अति गरिब छौँ । हामीसँग पढाइलेखाइ गर्न एउटा मात्रै कलम छ र त्यसको प्रयोग गर्नका लागि पूरै परिवार ।”

जलाशका बाबुले उद्धारका लागि उनीहरूलाई विमानस्थल जान भने । उनीहरू गए, झण्डै २४ घण्टा पर्खिए । “हामीले निकै कठिन समय बितायौँ । हामी निदाएनौँ । चर्को घाममा बस्यौँ । त्यो ठाउँ साह्रै फोहोर थियो”, उनले पर्खाइको पल सुनाइन्, “त्यहाँको सैनिकले त हाम्रा बाबुले हामीलाई लान नचाहेको पो बताए । उहाँले अर्की श्रीमती र परिवार लानुभयो । अझै हामीले उहाँलाई छोडेनौ भने मलाई झापड लगाउँछु भन्नुभयो ।”

“हामी टुक्रिएका मुटुहरू लिएर रुँदैरुँदै फर्कियौँ । अब हाम्रो एकमात्र आशा इश्वर हुनुहुन्छ ।” बीबीसीबाट भावानुवाद ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार