एमाले रुकुम पश्चिमका अध्यक्षसहित ४६ जना एकीकृत समाजवादीमा

एमाले रुकुम पश्चिमका अध्यक्षसहित ४६ जना एकीकृत समाजवादीमा

मुसिकोट । नेकपा (एमाले)  रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुन सहित सिंगो पदाधिकारी एकीकृत समाजवादीमा लागेका छन्। शनिबार खलंगामा बसेको जिल्ला कमिटीको बैठकबाट एमाले उपाध्यक्ष ऋषिप्रसाद शर्मा बाहेक सिंगो पदाधिकारी समाजवादीमा रोजेका हुन ।

पार्टी अध्यक्ष पुनका अनुसार एमालेका सचिव हरिप्रसाद शर्मा, उप-सचिव माधव गौतम लगायत बहुमत जिल्ला कमिटी सदस्यहरुले एकीकृत समाजवादीमा रोजेका हुन । उपाध्यक्ष शर्मा भने हालसम्म कुनैपनि पार्टीमा नखुलेको बताइएको छ ।

एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित ६५ जना जिल्ला कमिटीबाट ४६ जनाले नेकपा एकीकृत समाजबादी रोजेका हुन् । ५ जना जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा गएको र बाँकी १४ जना एमालेमा रहेका छन् ।

त्यस्तै रुकुम पश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सासद ठकेन्द्र प्रकाश पुरी , कर्णाली प्रदेश सासद देवी ओली र केन्द्रीय सदस्य शेरबहादर केसी पनि एकीकृत समाजवादीमा लागेका छन् ।

औपचारिक रुपमै एकीकृत समाजवादी पार्टी बनेसँगै रुकुम पश्चिमको जिल्ला कमिटी मुसिकोटको कालिका मन्दिरमा पार्टी कार्यालय समेत स्थापना गरेको छ । शनिबार एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शेरबहादुर केसीले पार्टि कार्यालय उद्घाटन गरेका हुन् ।

यस्तै शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी बैठकले १०६ जनाको जिल्ला कमिटी गठन गरेको छ । बैठकले जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीब्रता दिने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार