रुकुम पश्चिममा काँग्रेसको चुनावी चहलपहल तीव्र

रुकुम पश्चिममा काँग्रेसको चुनावी चहलपहल तीव्र

मुसिकोट । वडा अधिवेशनको दिन नजिकिएसँगै रुकुम पश्चिममा नेपाली कांग्रेस कार्यकर्ताको राजनीतिक सरगर्मी बढेको छ । अधिवेशन कार्यतालिक सार्वजनिक भएदेखि नै जिल्ला र स्थानीय नेता कार्यकर्ता छुट्टाछुट्टै छलफल र भेटघाटमा व्यस्त छन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमको ७ औं जिल्ला अधिवेशन अन्तर्गत २३ गते एकै दिन सबै वडाको अधिवेशन हुँदैछ । वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांग्रेसका कार्यकर्ता जिल्ला आइसकेका छन्। वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा एक आपसमा छलफल, भेला र वहस भईरहेका छन ।

जिल्ला निर्वाचन अधिकृत जिल्लामा आउन ढिलाई भएको र ७३ वटै वडामा मतदान अधिकृत पठाउन समय लागेकोले केन्द्रले तोकेको भन्दा केहि दिन पछि सारेको हो ।केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि प्रष्ट देखिएको छ । कुन वडामा कस्का उम्मेदवार अघि बढाउने भन्ने विषयमा नेता कार्यकर्ताको दौडधुप भइरहेको छ ।

केही नेताहरु भने जिल्लाका सबै वडामा सहमतिको प्रयासमा जुटिरहेका छन् । वडा तहसम्म पनि आफ्नो पकड देखाउने गरि नेताहरु सक्रिय देखिएका छन् । लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीय स्तरका नेता अहिले जिल्ला आइपुगेका छन् । यसका साथै कामका लागि जिल्ला बाहिर रहेका काँग्रेस नेता कार्यकर्ता पनि जिल्ला भित्रीने क्रम जारी छ ।

आकांक्षीहरु धेरै भएकोले वडा तहमा कस्का उम्मेदवार बढी आउलान् भनेर आकलन गरिहाल्न सक्ने अवस्था भने छैन । स्थानीय अगुवा कार्यकर्ता अवसरको खोजीमा नेताको बचन कुरेर बसेकाले नतिजा यस्तै आउछ भनिहाल्न नसकिने नेताहरु नै बताउँछन् ।

छिटफुट बाहेक सबै वडामा सहमतिको प्रयास भइरहेको नेताहरुले प्रतिक्रिया दिँदै आएका छन् । तर, जिल्लाको नेतृत्वमा भने रस्साकस्सी नै हुने देखिएको छ । नेपाल शिक्षक संघबाट मतदान अधिकृत खटाईने सभापति ओलीले बताउनुभयो ।

त्यस्तै क्रियाशिल सदस्यतामा केहीको नाम छुटेकाले त्यसलाई केन्द्रबाट स्विकृत गराउन समय लागेकाले पनि वडा अधिवेशन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस रुकुम पश्चिमको भाद्र २३ गते हुने वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । जिल्लामा ७३ वडा रहेका छन् । सबै वडामा एकैदिन निर्वाचन हुनेगरी तयारी भएको नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार