कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना हुने

कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना हुने

सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको छ, विभागका निर्देशक ढुण्डीराज लामिछाने भने, ‘अब अन्तिम तयारीका काम थाल्छौं ।’

विभागको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागका निर्देशक लामिछानेले जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार