जगबहादुरका घरमा पहिलोपटक दाल चामल

जगबहादुरका घरमा पहिलोपटक दाल चामल

तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासको एउटा ऐलानी जग्गामा रहेको एउटा झुपडीमा बस्ने जगबहादुर विकको घरमा सायद पहिलोपटक एकैपटक दुई बोरा चामल भित्रियो ।

टाउकोमा ढाँका टोपी, घाटीमा मफलर र लौरोको सहायतामा जसोतसो दैनिकी चलाइरहेका जगबहादुर घरमै चामल पाउँदा प्रशन्न देखिए । ‘चार महिनालाई अन्नपातको जोहो भयो, बिमारले अशक्त भएपछि दैनिकी गुजारामै समस्या थियो’, नेपाली कांग्रेस तुलसीपुर–१८ को नवनिर्वाचित इकाई समिति र क्षेत्रीय प्रतिनिधिहरुको टोली खाद्यान्न सहयोग लिएर त्यहाँ पुगेका टोलीलाई जगबहादुरले भने ।

चौधौं महाधिवेशनका क्रममा भएको वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चुनिएपछि सो वडाले गरेको पहिलो सामाजिक अभियान थियो राहत वितरण । जोगबहादुर मात्र होइन, सोही स्थानकै ऐलानीमा बस्दै आएका भूमिहीन तथा बिरामी मजदुर नरबहादुर विकलाई पनि यस्तै खाद्यान्न सहयोग गरिएको थियो ।

प्रतिपरिवार दुई बोरा चामल, एक किलो नुन, एक लिटर तेल, दाललगायतका खाद्य सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको इकाई सभापति बीरेन्द्र खड्काले बताए । पार्टी राजनीतिमा मात्र सीमित नभएर समाजमा यसरी दैनिकरुपमा खानाकै समस्यामा परेका परिवारलाई सहयोग गरेर वडा इकाई समितिले आफ्नो पहिलो अभियान सुरु गरेको पनि सभापति खड्काले बताए । ‘नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१८ इकाई अब सामाजिक कार्यमा पनि निरन्तर जोडिनेछ’, खड्काले भने कोभिडको महामारीमा होस् वा बाढी पीडित सबैलाई सहयोग गर्न हामीहरु निरन्तर लागिरहने छौं ।

जगबहादुर विक लामो समयदेखि मजदुरी गर्दै ऐलानी जग्गाको एउटा सानो झुपडीमा बस्दै आएका थिए । पछिल्लो समयमा उनी क्षयरोगले पीडित भएपछि दैनिकरुपमा ज्याला मजदुरी गर्न नसक्ने भएपछि उनलाई साँझ बिहान हातमुख जोर्नै मुस्किल भएको थियो । त्यसैगरी नरबहादुर विक पनि केही दिनअघि घरमै लडेर काम गर्न नसक्ने भएपछि उनको परिवारलाई पनि हातमुख जोर्न समस्या परेको थियो ।

नेपाली कांग्रेस तुलसीपुर–१८ इकाईद्वारा आयोजित राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य श्याम रेग्मी, कांग्रेस नेता कृष्णबहादुर डाँगी, रामकुमार डाँगी, साविक बिजौरी इकाई सभापति हिमबहादुर डाँगी, नेता एचबी सेर्चन, विद्यार्थी नेता हरिशचन्द्र भण्डारी, तरुण नेता शंकर नेपाली, विपिन आचार्य, पिताम्वर वली, धनबहादुर डाँगी, रमेश रोका, हरि नेपाली, इकाई सचिवद्वय विदुर गौतम र चित्र नेपालीलगायत सबै क्षेत्रीय प्रतिनिधि तथा इकाई समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

क्षेत्रीय प्रतिनिधि तथा इकाई समितिका पदाधिकारीहरुले आर्थिक संकलन गरेर खाद्यान्न सहयोग गरिएको क्षेत्रीय प्रतिनिधि रमेश रोकाले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार