प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडक मर्मत

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडक मर्मत

मुसिकोट । त्रिवेणी गाउँपालिका ६ नम्वर वडाले बर्षायाममा बिग्रिएका वडा भित्रका सडकहरु अहिले मर्मत तथा सफा भईरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडा भरीका सडकहरु मर्मत तथा सफा गरेर बेरोजगारहरुलाई रोजगार समेत दिईरहेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत वडाभरीका कृषि सडकहरुको मर्मत तथा सरसफाईको काम थालिएको त्रिवेणी गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७८/०७९ को पहिलो चौमासिकमा प्राप्त १३ लाख २० हजार रुपैयाबाट सडक सरसफाईको कार्य थालनी गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । प्राप्त बजेटबाट २३ जनालाई १ सय दिनको रोजगारी दिईनेछ भने वडाको विकास पनि हुनेछ ।

पहिलो चौमासिकमा रोजगारीमा समाबेश गराउन नसकिएका बेरोजगारहरुलाई क्रमश अरु काममा र समयमा सहभागी गराईने उहाँले बताउनुभयो । यस वडाका ३ सय जना बेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत गरिएको छ ।

पहिलो चरणमा मुलाखोलादेखि वडा कार्यालयसम्म सडक मर्मत सम्पन्न भएको छ भने अरु सडक मर्मतको काम चलिरहेको छ । सडक सरसफाई पछि वडाका बिभिन्न टोलहरुमा आवागमन सहज हुनुका साथै सवारी वस्तु ढुवानीमा सहजता हुनेछ । सबै सडकको सफाई कार्य सम्पन्न हुन करिब एक महिना लाग्ने बताईएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार