को होला काँग्रेस रुकुम पश्चिमको पार्टी सभापति ?

यी हुन् पदाधिकारी तथा प्रतिनिधिका आकांक्षिहरु

को होला काँग्रेस रुकुम पश्चिमको पार्टी सभापति ?

यी हुन् पदाधिकारी तथा प्रतिनिधिका आकांक्षिहरु

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशनले यतिबेला जिल्लामा माहौल तातिएको छ । सदरमुकाम बाहिर रहेका काँग्रेसका नेता तथा कार्यकर्ताहरु यतिबेला मुसिकोटमा बिभिन्न गुट, उपगुटका छलफलमा व्यस्त रहेका छन् । मंसिर ६ गते तोकिएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बिषयमा सहमतिको अधिकतम् प्रयास गरिएको नेताहरुको प्रतिक्रिया रहेको छ ।

उजेली न्युजलाई प्राप्त सूचना अनुसार जिल्ला सभापति पदमा हालमा सभापति प्रेम प्रकाश ओली र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर रोकायको आकांक्षा देखिएको छ । कार्यकर्ताहरुबाट आएको सहमतिमा नेतृत्व चयनको सुझाव अनुसार सभापति पदमा पुनः प्रेम प्रकाश ओली दोहोरिने सम्भावना रहेको छ । तर सभापति पदको सहमति सँगै जोडिएर आएका बिभिन्न शर्तहरुको कारण स्पष्ट रुपमा यो समाचार तयार पार्दा सम्म सहमति नभएको एक नेताले बताए ।

सहमतिमै कार्यसमिति चयनको लागि पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह र पूर्व सभापति मानबहादुर नेपाली लगायतले सहजिकरण गरिरहनुभएको बताईएको छ ।
दुबै पक्ष बिचमा एक साता यता सहमतिको लागि बिभिन्न विकल्प सहितको छलफल जारी राखिएको जनाईएको छ । जिल्ला सभापति पदमा प्रेम प्रकाश ओली पुनः दोहोेरिने गरी सहमति भएमा नेता कृष्णबहादुर रोकाय प्रदेश पदाधिकारी जाने र सहमति नभएमा दुबै बिचमा निर्वाचन हुने देखिएको छ । श्रोतका अनुसार चुनाव भएमा दुई पक्ष बिचमा कडा प्रतिश्पर्धा हुनेछ ।

हाल रुकुम पश्चिममा ७३ ओटै वडाबाट छनौट भएर आएका १ हजार २ सय ४४ क्षेत्रिय प्रतिनिधि रहेको काँग्रेसले जनाएको छ । क्षेत्रिय प्रतिनिधिहरुले नै जिल्ला अधिवेशनमा भाग लिने प्रावधान रहेको छ । आँकलन अनुसार प्रेम प्रकाश ओलीको पक्षमा क्षेत्रिय प्रतिनिधिहरुको बहुमत रहेको देखिन्छ । गत कार्तिक २८ गते मुसिकोटमा सम्पन्न एक छलफलमा ६ ओटै पालिकाका पार्टी सभापतिहरुले प्रेम प्रकाश ओलीलाई दोहोर्याउने निर्णय समेत गरेकोले ओली नै सभापतिको बलियो दाबेदार मानिएका छन् ।

अन्य पदमा को को आकांक्षि ?
रामचन्द्र पौडेल निकट मानिने प्रेम प्रकाश ओलीको पक्षबाट जिल्ला उपसभापतिमा भिमबहादुुर डाँगी र धिरेन्द्र बटालाको आकांक्षा देखिएको छ भने शेरबहादुर देउवा निकट मानिने कृष्णबहादुर रोकायको पक्षबाट हर्कसिं खत्री र कर्णबहादुर डाँगीको तिब्र आकांक्षा रहेको छ ।

त्यसैगरी सचिव पदका लागि ओली पक्षबाट तारक शाही, गोरखबहादुर खत्री र नरेन्द्र केसीको चर्चा छ भने रोकाय पक्षबाट महेन्द्र केसी र परमेश्वर भण्डारीको चर्चा रहेको छ । कोषाध्यक्ष पदमा भने मनोनित गर्ने प्रावधान रहेको छ । हालका कोषाध्यक्ष मोहबिर खड्का दुबै पक्षको सहमतिमा पुनः कोषाध्यक्षमा दोहोरिने प्रबल सम्भावना रहेको छ ।
काँग्रेसमा महत्वपूर्ण मानिने महाधिबेशन प्रतिनिधिको लागि पनि प्रतिश्पर्धा हुने देखिन्छ । एक नेताका अनुसार २५ जना महाधिवेशन प्रतिनिधिको लागि पनि सहमतिको कोशिस गरिएको छ ।

महाधिबेशन प्रतिनिधि पदमा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, पूर्व सभापति मानबहाहुर नेपाली, पूर्व राज्यमन्त्री मिठ्ठु मल्लको नाम अगाडि सारिएको छ । त्यसैगरी नेताहरु बिरबहादुर ओली, खड्कबहादुर डाँगी, राजु केसी, ओम केसी, तिलक भण्डारी, यामबहादुर केसी, गोरख केसी, सीता ओली, मनिषा भण्डारी, तारा चन्द, डा. दिपक पुन, देब बहादुर ओली, यज्ञ बिष्ट, नरबहादुर नेपाली, यज्ञ परियार, जनक कुमार बाँठा, टेक बहादुर पुन, तारक केसी, शिव आचार्य, राजेश केसीको आकांक्षा रहेको बताईएको छ ।

त्यसैगरी कर्णबहादुर ओली, लालबहादुर ओली, हरिचन्द्र शाह, गोपाल शर्मा, हिरा गहतराज, टेकबहादुर बि.क., लालबहादुर महत, कमला केसी, सुजल शाही, जनक चन्द, काँशिराम खड्का, बिरबल केसी, शम्भुप्रसाद शर्मा, लेखमाया केसी, निर्मला गिरी, बालकुमारी गिरी लगायतको नाम चर्चामा रहेको छ । सम्भावित आकाँक्षिहरु मध्य कहिले सार्वजनिक रुपमा उमेद्वारी घोषणा गरेका छन् भने केहि खुलेका छैनन् ।

यसका साथै प्रदेश क र ख बाट गरेर ३४ जना प्रदेश प्रतिनिधि समेत यस पटक चयन हुनेछन् ।

यस पटक काँग्रेस रुकुम पश्चिमले बैज्ञानिक मापदण्ड बनाएर पदाधिकारी तथा प्रतिनिधि चयन गर्ने बिषयमा पनि नेताहरु बिचमा छलफल भएको बताइएको छ । यस अघि सम्पन्न छैठौ जिल्ला अधिबेशनबाट बिभिन्न जिम्मेवारी तथा भूमिका निर्वाह गरेका, पार्टीमा निरन्तर लागेका, बिभिन्न ढंगले पार्टीलाई सहयोग गरेका, क्रियाशिलता, जनवर्गिय संगठनमा काम गरेका लगायतका मापदण्ड बनाएर पदाधिकारी तथा प्रतिनिधि छनौट गरिने बिषयमा समेत छलफल भईरहेको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार