घरबासीको नाममा सम्बोधन !

घरबासीको नाममा सम्बोधन !

मुकुन्दप्रसाद शर्मा

आ-आफ्नो घरमा रहनुभएका आदरणीय आमा-बुबा , दाजुभाइ ,तथा दिदिबहिनीहरु अहिले प्रत्येक घरमा कोरोनाको त्रास छ। त्रासलाई सकारात्मक सोच र आत्मबलले पराजित गर्न सकिन्छ ।

बारम्बार साबुन पानीले हात धुने , चर्पी सफा राख्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। तातोपानी खाने , झोलिलो चिजबिज खाने , टिमुर ,लसुन ,बेसार ,ल्वाङ , गुर्जो ,फलफूल हरियो साग खानुपर्छ । बन्दाबन्दीको समय भएकोले सिर्जनात्मक कामहरु गर्ने, कविता ,कथा , उपन्यासहरु पढने र लेखने गरौं । कहिले पलङमा , सोफामा ,भुइँमा , छ्तमा बसेर टिकटिक बनाऔ ।

 

बाहिरबाट कसैलाई पनि प्रवेश गर्न नदिऔं । आफू पनि बाहिर नजाऔं । बिबिसी र एनटिभीका खबरहरु हेरौ। अरु च्यानलको त्यति भर देखिन्न ।सामाजिक संजालका समाचारहरुलाई विश्वास नगरौं । स्वास्थ्य विज्ञ र सरकारका निर्णयहरु पालना गरौं ।

 

घरमा पनि सामाजिक दुरी कायम गरौं । खाटमा सकभर एक्लै सुतौ। यद्यपि सुत्नै पर्ने भएपनि खाटमा पनि सामाजिक दुरी कायम गरौं । अनलाईन कक्षा र स्वयंसेवक दस्ता बनाऔं । सम्भावना भए गरौं । नत्र ज्यान जोगाउनेतिर लागौं । मान्छे जन्मन नचाहेर जन्मन्छ , मर्न नचाहेर मर्छ । तसर्थ ख्याल गरौं ।

 

परिवारको जेष्ठ सदस्यको नाममा बिपद कोष खडा गरौं । इच्छाअनुसार उक्त कोषमा पैसा जम्मा गरौं । त्यसको रकमबाट कोष संचालन गरौं । उक्त कोषबाट समानहरु किनौ । एटीएम घुसाउने,बैंकमा भिडभाड गर्ने कुरालाई यस कोषले रोक्न सक्छ। कोषमा भएको पैसालाई हिनामिना हुन नदिऔ ।

 

तरकारी किन्न अन्य समान किन्न टेन्डरको लफडातिर नलागौ। आफू पनि बचौ ।अरुलाई पनि बचाऔ । बन्दाबन्दी वा गुप्तवासको पालना गरौं । पालना नगरी अटेर गर्ने सदस्यलाई रु ५ को जरिवाना गरौं । बिहान उठन बितिकै सुस्तरी नारा लगाऔ। बोश बनेको कोरोनालाई विश्वबाट हटाऔ ,कोरोना चोर , नेपाल छोड ,कोरोना चोर हाम्रो घर छोड भनौ ।

 

नारा बेसरी भने प्रहरी र छिमेकीहरुले सुन्छ्न । तिनीहरु के भएको रहेछ भनेर घरमा आउन सक्छन् । तिनीहरुसग कोरोना आउन सक्छ। तसर्थ चनाखो बनौ , सतर्क बनौ। जय घरबासी ।

रुकुम (पश्चिम् )

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार