हिउँमा फसेका १४ मजदुरको उद्धार नभएपछि ओढारमा भोकै

हिउँमा फसेका १४ मजदुरको उद्धार नभएपछि ओढारमा भोकै

रुकुमकोट । रुकुम पूर्वमा सडक निर्माणको काममा लागेका १४ जना मजदुरहरु एक साता देखि हिउँमा फसेका छन् । लगातारको परेको हिउँको कारण उनीहरु ओढारमा बसेको बताईएको छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिन देखी हिउँमा फसेका छन् । गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । उनीहरुको साथमा रहेको राशन पनि सकिएको जनाईएको छ ।

हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिन देखि ओढारमा बसिरहेका छन् ।

वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरु काम गर्ने ठाउँमै फसेको भनेर हिजो आईतबार मात्रै खबर आएको थियो । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् ।

यस्तै रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आईतबार बेलुका मात्रै खबर आएकाले उनिहरुको उद्धारको पहल भइरहेको जानकारी दिनुभयो ।

हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको र आजै उहाँहरु बसेको गोठ वा ओढार पहिचार गरेर आजै उद्धार गरिने प्रजिअ बास्कोटाले बताउनुभयो । जसका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार