आर्थिक विकासका लागि सहकारी आवश्यक : सामाजिक विकास संयोजक गौतम

आर्थिक विकासका लागि सहकारी आवश्यक : सामाजिक विकास संयोजक गौतम

मुसिकोट । मुसीकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा नं ५ का वडा अध्यक्ष सुशील गौतमले मुलुकको आर्थिक विकासका लागि सहकारी संस्थाहरुको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार छिवाङ साना किसान कृषि सहकारी संस्था मुसिकोट नगरपालिका वडा नं १३ को छैठौं वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि गौतमले गाउँगाउँमा सहकारीहरुको विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामीले थोरै थोरै पुँजी संकलन गरेर सहकारी मार्फत ठूलाठूला काम गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘सहकारीले हामी सबैलाई सामुहिकताको भाव पैदा गर्छ ।’ सहकारीको अवधारणा निकै राम्रो भए पनि पछिल्लो समय केही सहकारीमा विकृति आएकाले त्यसको अन्त्य गर्नुपर्ने गौतमले आवश्यकता औंल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले सहकारीले लगानी अनुसारको प्रतिफल देखाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थामा आर्थिक पारदर्शीता निकै महत्व हुने भएकाले त्यसतर्फ ख्याल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

साना किसान लघुवित्त वित्तीय संस्था विरेन्द्रनगरद्धारा सञ्चालित व्यवसाय प्रवद्र्धन अधिकृत रस्तधन राईले सहकारीको अवधारणाको वारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा १४ नं वडा सदस्य ऋषिराम खत्रिले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

छिवाङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खड्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य रविन्द्र विष्टले गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष तुलसा रोकायको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

साधारण सभामा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरिएको थियो । हाल सो सहकारी संस्थामा ६ सय १७ जना आवद्ध रहेका छन् भने २ हजार एक सय ५० घरधुरी लाभान्वित भएका छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार