प्रदेश ५ ले पैदल घर हिंडेकालाई स्वास्थ्यजाँच, खाना र गन्तव्यसम्म पुर्‍याइदिने

प्रदेश ५ ले पैदल घर हिंडेकालाई स्वास्थ्यजाँच, खाना र गन्तव्यसम्म पुर्‍याइदिने

बैशाख ६ बुटवल

प्रदेश ५ सरकारले लकडाउनको समयमा पैदलै घर जान हिंडेकालाई गन्तव्यसम्म पुर्‍याइदिने भएको छ।

पूर्वपश्चिम राजमार्गमा विभिन्न जिल्लाहरुबाट आउने मजदुर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गरी पैदल यात्रुहरुको खानपान र स्वास्थ्य जाँचको व्यवस्थापनसहित घर पुग्ने व्यवस्था मिलाएको छ ।

जसका लागि प्रदेश ५ सरकारले प्रदेशका १ सय ९ वटै स्थानीय तहहरुलाई १० लाखदेखि २५ लाखसम्मको विशेष अनुदान दिएको छ।

प्रदेशका नाकाहरुमा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुहरुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टिनमा लगेर उनीहरुको स्वास्थ्य जाँँच गर्ने र एउटै जिल्ला वा स्थानीय तहका व्यक्तिहरुलाई पालैपालो घर पुग्ने व्यवस्था मिलाउने मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ ।

राजमार्गमा आएकाहरुलाई सम्बन्धित स्थानीय तहले प्रहरी प्रशासनको सहयोगमा स्थानीय क्वारेन्टिनमा लग्ने छन् र उनीहरुलाई खाने बस्ने व्यवस्था गर्नुका साथै स्वास्थ्य जाँच गरिनेछ र एउटै क्षेत्रका व्यक्तिहरुलाई मिलाएर सवारी साधनको व्यवस्था गरेर घरसम्म पुग्ने व्यवस्था हुनेछ उहाँले बताउनु भयो ।

शुक्रबार बिहानैदेखि प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आइपुगेकाहरुलाई रोकेर स्थानीय क्वारेन्टिनमा राखिएको छ । मुख्यमन्त्री शंकर पोख्रेलको निर्देशनअनुसार सुरक्षा निकाय र स्थानीय तहहरुले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरिसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार