लकडाउनले उखु किसान मारमा

लकडाउनले उखु किसान मारमा

बैशाख ६  झापा

झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन् ।

उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट ९लाक्रा० सुक्न थालेसँगै उनमा चिन्ता थपिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारती बताउँछन् ।

“उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके”, उनले भने, “३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन । उखुखेतीबाट झण्डै रु ४० लाख आम्दानी गरौँला भन्ने थियो । अब त आस हराउँदै गयो, अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखु बारीमा आगो छाड्दा हुन्छ ।”

उखुखेतीका लागि रु ३०/३५ लाख लगानी भएको छ, अब लगानी कसरी उठाउने उनले दुखेसो पोखे । लामो समयदेखि व्यावसायिक उखुखेती गर्दै आएका भारती झापामा जुस बनाउने उखुखेती गर्ने पहिलो कृषकका रूपमा चिनिन्छन् । उनले विसं २०४८ अघिदेखि उखुखेती गर्दै आएका हुन् । जुसका लागि उनले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौँ, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उनले समयमा उखु बिक्री गर्न सकेनन् ।

अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु बिक्री गर्न नसकेर बगानमै आगो लगाएको भारतीको भनाइ छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार