भारतको राजस्थानमा कोरोना संक्रमितको रिपोर्ट नै नेगेटिभ आएपछि बन्द गरियो र्‍यापिड टेस्ट

भारतको राजस्थानमा कोरोना संक्रमितको रिपोर्ट नै नेगेटिभ आएपछि बन्द गरियो र्‍यापिड टेस्ट

भारतको राजस्थान प्रदेश सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट कोरोनाको एन्टिबडी परीक्षण गर्न बन्द गरिदिएको छ।  कोरोनाभाइरस संक्रमित बिरामीको परीक्षण गर्दासमेत र्‍यापिड किटले नतिजा नेगेटिभ देखिएपछि प्रदेश सरकारले उक्त किटबाट परीक्षण बन्द गरेको हो।

प्रदेश सरकारले  मंगलबारदेखि र्‍यापिड किटबाट परीक्षण रोकिएको कुरा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई पनि जानकारी गराइसकेको द हिन्दुले जनाएको छ।

देशका स्वास्थ्यमन्त्री  रघु शर्माले ९० प्रतिशत नतिजा सही देखाउँछ भनेर ल्याएका किटले जम्मा ५.४ प्रतिशत रिजल्टमात्र सही दिएकाले यसबाट परीक्षण गर्नुको कुनै फाइदा नभएको बताए।

सवाइमानसिंह अस्पतालका विज्ञहरूको एक टोलीले र्‍यापिड किटले जाँचेको नतिजा कति सही हुन्छ भनेर अध्ययन गरेको थियो। उक्त अध्ययनबाट ५.४ प्रतिशत नतिजामा मात्र मिलेको देखिएको थियो।

‘उक्त समितिको सल्लाहअनुसार हामीले र्‍यापिड किटबाट परीक्षण गर्न बन्द गरिदिएका छौं,’ मन्त्री शर्माले भने।  अध्ययनका क्रममा पहिला नै पिसिआर मेसिनले कोरोना संक्रमित पुष्टि गरिसकेकालाई पनि र्‍यापिड टेस्ट गरिएको थियो र नतिजा नेगेटिभ आएको थियो।  राजस्थानमा गत शुक्रबारदेखि र्‍यापिड टेस्ट थालिएको थियो।  एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार