ओली हटाउने अन्तिम तयारी, नेकपा दुर्घटना नजिक

ओली हटाउने अन्तिम तयारी, नेकपा दुर्घटना नजिक

काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी भएको छ । त्यसका लागि उनीविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएका छन् ।

ओलीले एकपछि अर्को विवादास्पद काम गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम एक भई हटाउने तयारीमा लागेका हुन् । हिजो बालुवाटारमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई तत्काल राजीनामा दिएर बालकोटमा आराम गर्न भनेपछि तयारीको योजना प्रष्ट खुलेको हो ।

१२ वैशाखमा गौतमले भैंसेपाटीस्थि घरमा पाँच जना सचिवालय सदस्यहरुको बैठक डाकेर ओलीलाई सरकारबाट हटाउने योजनालाई अन्तिम रुप दिएका थिए । त्यसको भोलिपल्ट बालुवाटारमा ओलीले नेकपा नेताहरुलाई एक्ला एक्लै डाक्दा हक्की स्वभावका गौतमले सरकारबाट हट्न भनेका थिए । उनले तत्काल स्थायी कमिटि बैठक डाक्न समेत भनेपछि ओलीले नमान्ने वित्तिकै राजीनामा दिन भनेका थिए ।

गौतमले ओलीबाट पार्टी पतन हुने खतरा बढेको भन्दै कुनै हालतमा हटाउनुपर्ने जोड गरेको निकट स्रोतले जानकारी दियो । ओली इतरको बैठकमा गौतमले अब अति भयो भनेर पार्टीलाई जोगाउन ओलीलाई हटाउनुपर्ने भनेका थिए । अन्य नेताहरुले प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

ओलीले ल्याएको अध्यादेश उनकै लागि घातक बनेपछि अप्ठ्यारोमा परेका हुन् । सचिवालयमा ओली अल्पमतमा परेका छन् । स्थायी कमिटिमा उनलाई माधवकुमार नेपालको साथ नभए अप्ठ्यारोमा पर्न सक्छन् ।

आफूविरुद्ध सचिवालयका अधिकांश सदस्य लागेपछि ओलीले विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, महेश बस्नेतलगायत नेताहरु ओलीको बचाउमा सक्रिय भइसकेका छन् । उनीहरुले लकडाउनमा पनि भेटघाट तिव्र पारेका छन् ।

यसैगरी, ओलीले आफूलाई हटाउने तयारी तिव्र भएको थाहापाएपछि बालुवाटारमै भेटघाट बाक्लो बनाएका छन् । उनले निकटस्थ र असन्तुष्टलाई डाकेर छलफल गर्न थालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने र सबैलाई देखाइदिने भनेको बुझिएको छ । गौतमसँगको बालुवाटारमा भएको विवादमा पनि ओलीले देखाइदिने चेतावनी दिएको स्रोतले बतायो ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरे अप्रीय निर्णय लिनसक्ने बुझिएको छ । जसमा नेकपा नै दुर्घटनामा पर्नसक्ने देखिएको छ । उनले कुनै हालतमा सत्ता नछाड्ने दृढता व्यक्त गर्नुमा पार्टीको संसदीय दलमा भएको बहुमत पनि कारण हो । संसदीय दलमा ओलीको पक्षमा स्पष्ट बहुमत छ । पार्टी सचिवालयमा उनको पक्षमा ९ जनामध्ये आफूसहित ४ जना छन् । स्थायी कमिटिमा ओली अल्पमतमा छन् । पूर्व एमालेबाट माधवकुमार नेपाल पक्षधरसहित भने बहुमत हुन्छ । केन्द्रीय कमिटिमा पनि ओली माधव नेपालले साथ दिएमा बहुमतमा छन् । त्यसैले नेकपाको राजनीतिमा माधव नेपाल निर्णायक भएका छन् ।

ओलीले राजीनामा दिन नमानेमा स्थायी कमिटि हुँदै केन्द्रीय कमिटिले टुंगो लगाउनेछ । तर, केन्द्रीय कमिटिमा ओलीलाई माधव नेपालको साथ नभए पार्टीले उनीविरुद्ध निर्णय गर्न सक्छ । तर, ओली अध्यक्ष भएकाले कुनै हालतमा पकड बलियो बनाएर विपक्षीलाई देखाइदिने रणनीतिका साथ विश्वासपात्रहरुलाई सक्रिय बनाउन थालेका छन् ।

ओली हटाउने र आफू प्रधानमन्त्री बन्ने नेताहरुको प्रतिष्पर्धाले नेकपाभित्र दुर्घटनाको सम्भावना बढेको छ । विगतमा पनि ओली अडान लिने तर नछाड्ने नेता भएकाले उनल अप्रीय निर्णय लिएर भएपनि सत्ता टिकाउन या आफ्ना विरोधीलाई ठेगान लगाउने रणनीति अपनाउनसक्ने देखिएको छ । रिपोर्टर्स नेपाल बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार