उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलकाअनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उनकाअनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार