व्यवस्था बदलिए पनि अवस्था नबदलिएको रुकुम

krishi
Duduwa Corona

व्यवस्था बदलिए पनि अवस्था नबदलिएको रुकुम

  •  
  •  
  •  
  •  
  •  
  •  
शिवजी श्रेष्ठ

गत शनिबार पश्चिम रुकुम र जाजरकोटको चौरजहारीमा कथित दलित केटाले उच्च जातकी केटीसँग प्रेम विवाह गर्न खोज्ने क्रममा घटित घटनाले फेरि मलाई २२-२३ वर्ष अगाडि माओवादी जनयुद्धको उद्गम स्थल रुकुममा प्रहरी निरीक्षकको रुपमा खटिँदाका ती दिनहरू चलचित्रका पर्दामा झैँ झलझल स्मरणमा आए ।

आफू खटिएको पश्चिम रुकुमको दुर्गम गाउँमा अधिकांश मगर जातिका मानिसहरू बसोबास गर्थे, बाँकी दलित जातिका थिए भने वरपर चाहिँ ठकुरी जातिका मानिसहरू थिए । बेलाबखत माओवादी गाउँमा भित्रियो भन्ने सूचनाका आधारमा गाउँघरमा खानतलासी गर्न जाँदा अधिकांश घरमा महिलामात्र हुन्थे पुरुषहरू भेटिँदैन’थ्यो । कथंकदाचित भेटिहाले पनि सानासाना उमेरका केटाकेटी वा वृद्ध हुन्थे ।

कति घर त यस्ता हुन्थे, दिनमै अन्धकार पाटी जस्तो लाग्ने । एउटै कोठामात्र हुन्थे, जहाँ पकाउने अगेना, खाने, सुत्ने बस्ने अनि राखन-धरन गर्ने सबै त्यहीँ गरेको देखिन्थ्यो । कतिपयको घरमा त घरपालुवा जनावर पनि त्यहीँ बाँधिराखेका हुन्थे ।

दाउरा बालेर घर नै कालोकालो भइरहेको अन्धकार कोठामा हतियारसहित भित्र पस्न आफैँलाई असुरक्षित लागेर जब हामी घरका महिलालाई बत्ती बाल्न अनुरोध गर्थ्यौं । कतिले मट्टितेल हालेको सिसाको बोतलमा सलेदो (धागो) हालेको टुकी बाल्थे । कतिले बत्ती छैन भनेर भन्थे । हामीले बत्ती पनि छैन ? भनेर आश्चर्य मान्दै सोध्दा ती घरमूली महिलाले दिएको जवाफ सुनेर हामी अवाक हुन्थ्यौं । ती महिलाले भनेकी थिइन् – ”घरमा कमाउने ठूला मान्छे कोही छैनन्, त्यसैले आफूसँग मट्टितेल किन्ने पैसा नभएर बत्ती छैन । आपतकालमा कहिलेकाहीँ सल्लाको खोटोको दियालो बाल्छौं हजुर।”

घरमूली देशमा आमूल परिवर्तनका लागि जंगलतिर, परिवारको हालत चाहिँ यस्तो छ । यस्तो हालतमा हुने अधिकांश चाहिँ दलित जातिका भेटिन्थे । नियमित घर खानतलासीमा गइरहँदा एकपटक त यस्तो दृश्यबाट गुज्रिनुपर्‍यो कि अहिले त्यो दृश्य सम्झिँदा पनि मन कस्तोकस्तो भएर आउँछ।

जब हामी एउटा घरमा माओवादीले सेल्टर लिएको हुनसक्ने सम्भावनाले त्यो घरका सबैजनालाई बाहिर निकालेर घर खानतलासी लिँदै थियौं, मेरो शंकालु नजर त्यो घरको सबै कुरामा एक एक गरेर पुग्दै थियो, एउटा ठाउँमा पुगेर मेरो आँखा टक्क अडियो । मैलो ओछ्यानमाथिको सानो झ्यालको खोपीमा एउटा प्लास्टिकको बट्टा (सायद बिस्कुटको)।

भित्र के छ भनेर छर्लङ्ग देखिने त्यो ट्रान्सप्यारेन्ट बट्टाभित्र केही रुपैयाँहरू देखिन्थ्यो । सबैभन्दा ठूलो नोट रातो बीसको त्यस्तै १-२ वटा होलान् । अरू दश र पाँच रुपैयाँ दरका केही नोट र सिक्काहरू देखिन्थे । त्यहाँ जम्मा मुस्किलले सय रुपैयाँ थियो होला । सिरिखिरी सम्पत्ति भन्नु नै त्यति होला, सायद उनीहरूको पैसा राख्ने सेफ त्यही बिस्कुटको प्लास्टिक बट्टा।

मन नै विरक्त भयो अनि हठात् मनमा एउटा कुरा आयो । त्यही पैसामा पनि कसैको आँखा लाग्यो भने ? तब मैले मेरो सहायक अफिसरलाई बोलाएर त्यो बट्टा देखाउँदै बिस्तारै भनेँ – ‘असई सा’ब, त्यो उनीहरूको सिरिखुरी सम्पति रहेको बट्टा सुरक्षित रहोस् । केहीगरी तलमाथि भयो भने तपाईंलाई पाप लाग्छ है ।’ मैले देखे ती बट्टा हेर्दै गरेका मेरो असई सा’बको अनुहार सोचनीय अनि रोलारोला जस्तो भएको थियो । म अरू घरमा खानतलासी गर्न जाँदै गर्दा पनि उनी त्यही घरको ढोकामा उभिरहेका थिए । जबसम्म सबैजना त्यो घरबाट निस्केनन् ।

बाटोमा ती असई सा’ब भन्दै थिए – ‘सर हजुरले त्यो बट्टा देखाएर मलाई जुन शब्द भन्नुभो । म झसँग झस्किए अनि मन भारी-भारी भएर आयो । तब अन्तिमसम्म म त्यो घरको ढोकामा बसेर ढुक्क हुन्न । चाहे कि त्यो बट्टामा कसैको आँखा नलागोस् अनि त्यो घरका मूली भित्र पसेपछि सबै ठिक छ नि ।

मैले हेर्नुस् भनेँ ।

उनीहरूले हेरेर टाउको हल्लाएपछि मात्रै म निस्किएँ । पटक पटक त्यहाँका जनताको यस्तै सोचनीय अवस्था देखेर द्रवीभूत अनि निराश हुँदै हामी चौकीतिर फर्किन्थ्यौं।

सायद यस्तैयस्तै स्थान अनि पीडित, दु:खी अनि पिछडिएका समुदाय नै कुनै पनि वादको नाममा क्रान्तिको बिउ रोप्न र विस्तार गर्न उपयुक्त हुन्छ क्यारे । जसको कुनै ठूलो सपना हुँदैन । बस् उनीहरूलाई आज र भोलिका लागि आफ्नो परिवारको छाक टार्ने मेलो पाए हुने ।

सायद त्यसैले माओवादीले आफ्नो जनयुद्धको बिउ रोप्न अनि मलजल गरेर फैलाउनको लागि उपयुक्त भूमि यही रोल्पा-रुकुमलाई रोजे।

सा-साना सपनामा बाँचेकाहरूलाई ठूला ठूला सपना देखाए । सदियौंदेखि जातीय उत्पीडन भोगेकाहरूलाई जातीय समानताको मीठो आशा देखाए, ‘सहरमा ठूला ठकुरी राजा अनि गाउँमा पनि साना ठकुरी राजा” भन्दै उनीहरूले बुझ्ने भाषामा गणतन्त्रको बारेमा अर्थ्याए । आफूले त्यही स्कुल, कलेज अनि युनिभर्सिटी हुँदै त्यही पाठ्यक्रम पढेर क्रान्तिकारी बनेकाहरूले ती सोझासाझाहरूलाई चाहिँ ‘बुर्जुवा शिक्षा’ बहिस्कार गर्न उक्साए।

माओवादी जनयुद्धको त्यही मुख्य नारा ‘बुर्जुवा शिक्षा बहिस्कार” बाट विगतमा आफ्नो बच्चालाई स्कुल पठाइरहने समुदाय त आफ्ना बच्चालाई स्कुल पठाउन छाड्दै थिए भने त्यसै पनि आफ्ना बच्चालाई स्कुल नपठाउने नियतिबाट गुज्रिरहेका ती निर्दोष दलित समुदाय झन् शिक्षाको अवसरबाट झन् झन् टाढिँदै गएको देखिन्थे ।

मुलुकभरि नै त्यसै पनि सदियौंदेखि मानव भएर मानवबाटै अमानवीय व्यवहार व्यहोरिरहेका ती दलितहरूको अवस्था रुकुम रोल्पामा झन् विकराल देखिन्थ्यो । अझ अचम्मको कुरा त त्यहाँ गएपछि मैले देखेको समाजले त्यही दलित भनिने जातिभित्र पनि ठूलो जाति र सानो जाति भन्ने अचम्मको सोच र विवाद रहेको पाइयो।

जसै रुकुमको अनकन्टार कुनामा रहेको ”कोल” भन्ने गाउँमा माओवादीका तत्कालीन सेक्सन कमान्डर (पछि जनमुक्ति सेना कमान्डर हुँदै हाल उपराष्ट्रपति) पासाङ (नन्दकिशोर पुन) हाम्रो चौकी आक्रमण गर्ने योजनासहित बसेको छ भन्ने सूचना प्राप्त गरेकाले उनको खोजीमा त्यो गाउँ गएर सर्च गरेर प्रहरी चौकी फर्किँदै गर्दा बाटोमा पर्ने गाउँमा धेरै मान्छे जम्मा भइरहेका माथि डाडाबाटै देखियो । हामी जतिजति नजिक गयौ त्यो भिड हामीतिरै आउँदै गरेको देखी सतर्क पोजिसनमा अगाडि बढ्दै जाँदा महिलाको बाहुल्यता रहेको भिडबाट हामीलाई बोलाउँदै ‘हामीलाई तल्लो जातको भन्दै हेपौटे व्यवहार गर्दै कुटपिट भयो । न्याय चाहियो हजुर’ भन्दै एकजना व्यक्तिले कराउन थाले।

हामीले सतर्कता साथ सोध्यौं ”के भयो र ?” तब विस्तारमा भन्न थाले- भएको के रहेछ भने परियार थरका केटोले विश्वकर्मा थरकी केटीसँग भागी (प्रेम) विवाह गरेको रहेछ । तब केटीको आफन्तहरू केटाको घरमा आएर तल्लो जातको केटासँग छोरी पोइल गइ भनेर फिर्ता लैजाने प्रयास गर्दा एकआपसमा भनाभन भएछ । पछि तल्लो जात र माथिल्लो जातको विवाद निस्किएको रहेछ ।

हामीले दुवै पक्षलाई त्यसदिन सम्झाई बुझाई भोलि चौकीमा दुवै पक्ष आई छलफल गरी विवाद समाधान गरिदिने भनेर सबैलाई आ-आफ्नो घर पठायौं। कथित माथिल्लो जातकाहरूले एउटै सगोलमा राखेर हेर्ने गरेको दलितभित्र पनि एकआपसमा यस्तो व्यवहार देख्दा हामी अचम्मित हुँदै चौकी पुग्यौं। भोलिपल्ट दुवै पक्ष चौकी आइपुग्यो, छलफल चल्यो, कानुनी उमेर पुगिसकेका अनि मन मिलेका केटाकेटीको मन्जुरीमा भएको भागी विवाह भएकोले हामीले त्यसलाई दुवै परिवारले स्वीकार गरोस् भन्ने तरिकाले छलफल गरायौं ।

कुराकानी सकारात्मक हुँदैगर्दा हाम्रो प्रहरी जवानले खबर ल्यायो कि, ‘चौकी नजिकै घर भएका एक व्यक्तिले ती दुवै पक्षलाई खाम भाषा (मगर बाहुल्य गाउँ भएकोले सबैले त्यहाँ खाम भाषा बुझ्दथे) मा धम्क्याउँदैछन् सर’। पूर्वप्रधानपञ्चका छोरा अनि पूर्वप्रहरीकै भाइ भएको नाताले ती व्यक्ति हामीसँग धेरै नजिक थिए । जसको सिफारिस हामी सधैं सुन्थ्यौं पनि।

तर, त्यसदिन थाहा भो उनि त उल्टो ती दुवै पक्षलाई ”हाम्रो जनअदालत हुँदाहुँदै पुलिसकोमा किन आएको ?” भनेर पो धम्क्याउँदै रहेछ । अर्थात् उनि त माओवादी पो रहेछन् । जसलाई हामी हाम्रो शुभचिन्तक भनेर धेरै नजिक राख्ने गर्थ्यौं र बेलाबखत चौकीमै खान्थ्यो अनि सुत्ने समेत गर्थ्यौं ।

उनीलाई प्रहरीमा तिनीहरू आएर विवाद मिलाएको चित्तै बुझेको रहेनछ । तब हामीले उसलाई नियन्त्रणमा लिएर छानबिन सुरु गर्यौं । उता परियार र विश्वकर्मा परिवारको विवाद पनि समझदारीमा मिलाइदियौं।

जे होस् त्यहाँ गएपछि उच्च जातिकाले एउटै घानमा राखेर पिस्न खोजेकाहरू बीच पनि त्यो किसिमको उचनिच सम्बन्ध हुँदोरहेछ भन्ने थाहा पाए ।

यहीबीच माओवादी जनयुद्धकै क्रममा रुकुमकै एकजना दलित युवा, जसले एसएलसी उत्तीर्ण गरेर गाउँमै शिक्षक हुन खोज्दा उपल्लो जातका अभिभावकहरूले दलित शिक्षकलाई हाम्रा छोराछोरीले कसरी नमस्ते गर्छन् ? भो, हामीलाई दलित शिक्षक चाहिँदैन भनेर स्कुलमा हंगामा मच्चाएर शिक्षक समेत हुन नदिएको र पछि जनयुद्धको क्रममा उनी माओवादीमा लागेको भन्ने कुरा त्यस बखत चर्चामा थियो । थाहा छैन उनी को हुन्, अहिले कहाँ छन् र कुन स्तरमा पुगे कुन्नि । समाजमा दलितप्रति भएको हेपाहा व्यवहारको यही सेरोफेरोमा जनताको नाममा युद्ध सुरु गरेका माओवादीले आ-आफ्नो ‘टार्गेट’ बनाएर रुकुमका धेरैलाई आफ्नो साइडमा लिन सफल भए ।

जसरी अंग्रेजबाट भर्खर स्वतन्त्र भएको भारतमा उपल्लो जातका हिन्दुहरूले दलित हिन्दुहरूप्रति गरेको हेपौटे व्यवहारबाट आजित भएर क्रिश्चियन धर्ममा प्रवेश गर्न ठिक भएका १० लाख दलित हिन्दुहरूलाई रोकेर भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरले बुद्ध धर्ममा प्रवेश गराएका थिए ।

जब-जब जनयुद्धको राप बढ्दै गयो । सुन्नमा आयो रुकुममा दलित जातिबाट बद्‍लाभावले धेरैजना माओवादीमा प्रवेश गर्दै जंगलतिर लागेर ती उपल्लो जातिकाहरूसँग बदला पनि लिए । सर्वहारा अनि समानताको नाममा जनयुद्ध गरिरहेका माओवादी उनीहरूको लागि एउटा आकर्षण बन्दै गयो भने माओवादीको लागि उनीहरू माध्यम बन्दै गए।

आजभन्दा ५७ वर्ष अगाडि अर्थात् वि.सं २०२० भदौमा राजा महेन्द्रको पालामा नै जारी नयाँ मुलुकी ऐनले समेत जातीय छुवाछुतलाई कानुनी रुपमै बन्देज गरिसक्दा पनि समाजमा यत्रतत्र व्याप्त रहेको जातीय विभेदको अवस्थामा माओवादीले समाजभित्र एउटा तरंग ल्याउन समर्थ भयो पनि । वि.सं. २०६३ सालमा माओवादी जनयुद्ध शान्तिपूर्ण अवतरणको बिन्दुमा प्रवेश गर्‍यो । गणतन्त्र हुँदै संसदीय अंकगणितको खेलमा प्रवेश गरेको माओवादी सरकारमा जान समर्थ पनि भयो।

तत्कालीन संसदले मुलुकी अपराध संहिता, २०७४ र छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ पनि ल्यायो । जसमा जातीय छुवाछुतको बारेमा कडाइका साथ सजायको व्यवस्था गरिएको छ । यसैबीच पहिचान र जातीय समानताका माग राख्दै १० वर्ष जनयुद्ध गरेका माओवादी पटकपटक सरकारमा गए । दलितको प्रतिनिधित्व गर्दै कालीकोटका खड्गबहादुर विश्वकर्मादेखि रुकुमका दलजित स्रिपाइलीसम्म मन्त्री भए । धेरै दलित जातिको प्रतिनिधित्व गर्दै सांसद भए। अवसर पाउने दलितहरू रुकुमबाट धेरै देखिए । मलाई लाग्यो २२-२३ वर्ष अगाडि मैले रुकुममा देखेका दु:खी दलितहरूका दिन फर्किएछन्।

अब त जातीय समानताले मूर्त रुप लियो होला । अरू ठाउँहरूमा लिए नलिए पनि माओवादी जनयुद्धको उद्गम थलो रुकुममा त लियो लियो । हिजो शिक्षकमा अस्वीकार भएका दलित त्यही ठाउँबाट मन्त्री हुन पाए । उपल्लो जात आउँदा हिँडिरहेको बाटो छाडेर दिलमुनि झर्नुपर्ने नियतिमा राखिएका दलित प्रतिनिधि सिंह दरबार अनि संसदमा छिरेर आफ्नो वर्गको कुरा राख्दै कुर्लिँदै गरेको देखेँ।

अझ आनन्द त विसं २०५५ सालमा रुकुमको महत चौकी आक्रमण गरेर तत्कालीन डीएसपी ठूले राइलाई बन्दी बनाउने रुकुमकै दलजित श्रिपाइली मन्त्री बनेको देख्दा लागेको थियो। अहिले त झन् त्यतिबेलाका माओवादी पार्टी समेत मिलेको २/३ बहुमतको सरकार छ । अब त रुकुमका दलितहरूको घरमा बत्ती बले होलान् । गाउँमा बिजुली नै नपुगे पनि मट्टितेल किनेर टुकी बाल्नसक्ने भए होलान्।

हिजो घर खानतलासी गर्दा प्लास्टिकको बट्टामा पाँच रुपैयाँ, १० रुपैयाँ अनि मुस्किलले २० रुपैयाँको नोट जम्मा गरेर दु:खले साँचेर राख्ने ती टिठलाग्दो दलित दिदीबहिनीहरू अब त चाहेको बखत २-४ हजार खर्च गर्नसक्ने भए होलान् नि भन्दै म त्यही पाँच रुपैयाँ अनि १० रुपैयाँको सुरक्षाको लागि ती निर्दोष दलितको घरको ढोकामा उभिने उनै असई सा’बलाई सम्झिरहेथे ।

सबै दलितका बच्चाहरू त्यही बुर्जुवा शिक्षाकै लागि भए पनि स्कुल अनि कलेज जाने भए होलान् नि भन्ने लागेर मुस्कुराउँथे । अनि हिजो दलितभित्र पनि उचनिचभन्दै आफू आफूमा लडाइँ झगडा गर्ने दलित समुदाय अब त जातीय समानताको आधारमा आफूभित्र मात्र होइन कि उपल्लो जाति भन्नेहरूसँग पनि बिहेबारी चल्न थाल्यो होला नि भन्ने सोचेर आनन्दित भइरहेको थिएँ ।

यहीबीच केहीदिन अगाडि उही माओवादीको उद्गम स्थल रुकुमका नवराज विश्वकर्मा ठकुरी जातका मल्ल केटीसँग प्रेम गरेर भागी विवाह गर्न केटीले बोलाएकाले केटी लिन जाँदा खेदी–खेदी पिटाइ खाँदै भेरी नदीमा हेलिएर दुई साथीहरूसहित मारिएको समाचार पढेपछि झसंग भएँ । के यो साँचो होला त ? के माओवादीले २५ वर्ष अगाडि जातीय समानताको नारा दिँदै जुन ठाउँबाट जनयुद्धको शंखनाद गरेका थिए । तर, त्यही रुकुममा दलितको अवस्था चाहिँ आज पनि उस्तै ?

अनि उही नारा दिने माओवादी पटक–पटक सरकारमा आउन थालेको १५ वर्ष हुनलाग्दा पनि दलितहरूको उही नियति ? के रुकुमका केही दलित देखाउनकै लागि मात्रै सांसद बनाइएको हो त ? कि रुकुम गुनामका दलजित श्रिपाइलीलाई मन्त्री बनाएर बाँकी दलितचाहिँ अझै गुमनामकै अवस्थामा छन् ?

जे होस् अहिलेको पश्चिम रुकुम र जाजरकोटको घटना एउटा घटना मात्र होइन । यो त समुच्च समाजको अवस्था देखाउने प्रतिनिधि घटना नै हो । सरकार र व्यवस्था अनि कानुन बदलिएर मात्रै दलितको अवस्था बदलिने होइन रहेछ । त्यसको लागि त समाजको व्यवहार पो बदल्नुपर्ने रहेछ ।

जबसम्म समाजलाई सुशिक्षित गरिँदैन तबसम्म जति नै व्यवस्था अनि सरकार बदलिए पनि, संसदले जति नै कडा कानुन बनाए पनि त्यसले सकारात्मक परिणाम दिन नसक्ने रहेछ । हैन भने व्यवस्था बदलिएपछि केही व्यक्तिको हैसियत बदलिएला तर सिङ्गो समुदाय भने जहाँको त्यहीँ रहिरहने रहेछ ।

अहिले २२-२३ वर्ष अगाडिको रुकुमको तिनै दलित समुदायका प्रत्येक घर परिवारका चित्र मेरो अगाडि नाचिरहेको छ । जसका घरमूलीहरू आफ्नो जातीय समानताको लागि भन्दै एउटा सपना साँचेर घर र परिवार छाडेर जंगलतिर लागेका थिए । अनलाइन खबर बाट

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार