रुकुम घटनाका दोषीमाथि कडा कारबाही हुन्छ: मन्त्री प्रकाश ज्वाला

रुकुम घटनाका दोषीमाथि कडा कारबाही हुन्छ: मन्त्री प्रकाश ज्वाला

जेठ २४ काठमाडौ

कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश ज्वाला कर्णाली प्रदेश कोरोना भाइरसको रोकथामका लागि गम्भीर भएको बताउँछन् । उनले प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको उल्लेख गरेका छन् । रुकुमको सोती घटनाको छानविन भइरहेको र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने बताएका छन् । यसै सेरेफेरोमा मन्त्री ज्वालासँग बरिस्ठ पत्रकार ऋषि धमलाले गरेको कुराकानीः
कर्णाली प्रदेशका जनता त त्रासमा छन् नि कसरी काम गरिरहनुभएको छ ?
कर्णाली प्रदेशको अवस्था सबैलाई थाहा छ । कोरोनाको कहरबाट कर्णाली प्रदेश पनि आक्रन्त छ । यहाँ पछिल्लो समय संक्रमितहरुको संख्या बढिरहेको छ । त्यसलाई नियन्त्रण गर्न माही केन्द्रित छौं । अन्य स्थिति त ठिकै छ ।
क्वारेन्टाइको व्यवस्था नभएर जनताहरु खुला आकासमुनि वाध्य छन् नि ?
तपाईंले भनेको जस्तै समस्याहरु छन् । तर, शहर वा पहाडमा बसेका छन् भन्ने होइन । स्थानीय तहहरुलाई हामीले सहयोग गरेका छौं । उनीहरुले क्वारेन्टाइनहरु बनाएका छन् । भारतबाट एकैपटक धेरै मान्छेहरु आएकाले समस्याहरु भए । तर, प्रदेश र स्थानीय सरकार मिलेर क्वारेन्टाइनको व्यवस्था गरेका छौं । अहिले प्रदेश अस्पताल, जिल्ला र स्थानीय तहमा कम्तिमा १००, ५० र २५ बेडका आइसोलेसन बनाउने काम गरिरहेका छौं । सबै संक्रमितहरुलाई अस्पतालहरुमा ठाउँ नपुग्ने भएकाले लक्षण नदेखिएको संक्रमितहरुलाई पालिकामै राख्ने गरी प्रदेश सरकारले सहयोग गर्ने छ ।
गाउँपालिका र नगरपालिकाले पैसा पाएका छैनन् रे, कर्णाली निकम्मा भयो भनिन्छ नि ?
गाउँपालिका र नगरपालिकाले पैसा पाएका छैनन् भन्ने कुरा सबैभन्दा गलत हो । सबैभन्दा धेरै सहयोग चाहिं हाम्रै प्रदेशले गरेको छ पालिकाहरुलाई । हामीले सुरुमै राहत उपलब्ध गराउन, स्वास्थ्य सामाग्री गरिद गर्न र क्वारेन्टाइन बनाउन वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकालाई २० लाख र गाउँपालिकाहरुलाई १५, १५ लाखको दरले दिएका छौं । त्यसैगरी कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्रीहरु पनि हामीले गाउँपालिका र नगरपालिकालाई उपलब्ध गराएका छौं ।
तपाईंहरुले त पठाउनुभयो तर रकम सही ढंगले कार्यान्वयन भएन नि ?
हामीले सबै तहमा प्रदेश सरकार पुगेर काम गर्न सपोर्ट गरेका छौं । उहाँहरुले आफ्नो स्रोत पनि लगाउनुभएको छ । र, गम्भीर ढंगले प्रदेश सरकार र पालिका मिलेर काम गरेका छौं ।
तपाईंले पैसा पठाइएको भनिरहँदा धेरै नगर र गाउँपालिकाका प्रतिनिधिहरुले पैसा पाएका छैनौ भनेका छन् तपाई त आर्थिक मामिला मन्त्री किन काम हुन सकेन ?
यो बेलामा काम गर्ने जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकारको हो । हामीले हाम्रो जिम्मेवारी अनुसार काम गरेका छौं । त्यस्तो कुनै पनि पालिकाले भनेजस्तो लाग्दैन । हाम्रो बीचमा समन्वय पनि भएको छ । हाम्रो जुन क्षमता छ त्यसअनुसार सहयोग पनि हामीले गरेका छौं । अनि केही भएन भन्नु त त्योभन्दा ढाँट कुरा त केही पनि हुँदैन ।
दैलेख कोरोना केन्द्र बनिसकेको छ, संक्रमितहरुलाई हस्ताक्षर गराउँदै घर पठाउँदै गरिरहनुभएको छ किन क्वारेन्टाइनमा राख्नुहुन्न ?
त्यो पनि होइन । हामीले पालिकाहरुले र जिल्ला अस्पतालले निर्माण गरेका जुन क्वारेन्टाइनहरु छन् तिनमा राखिएको छ । र तिनीहरुलाई परीक्षेण गरिएको छ । अब एकैचोटी धेरै संख्यामा आएपछि हाम्रो मेसिनको एकैपटक परीक्षण गर्ने क्षमता भएन । जे–जति क्षमता छ, त्यो अनुसार परीक्षणहरु भइरहेको छ । रिपोर्टहरु पनि आइरहेका छन् । परीक्षण गर्दा संक्रमित छैनन् उनीहरुलाई घर पठाइएको छ ।
दैलेखमा चिकित्सकको अभाव छ, डाक्टरहरु किन पुगेनन् ?
चिकित्सकहरु दैलेखमा पनि पुगेका छन् । अरु ठाउँमा पनि पुगेका छन् । भारतबाट आउने संख्या बढी भएकाले व्यवस्थापन कमीकमजोरी भएको छ । चेक नगराइकन घर पठाउने काम भएको छैन । बरु कुनै, कुनै क्वारेन्टाइनमा समय पुगेर पनि परीक्षण गर्न सकिएको छैन । हामीसँग जति डाक्टरको र मेसिनको क्षमता छ, त्यति परीक्षण गराएका छौं ।
कर्णालीमा त एकै दिन १०० जना संक्रमित थपिए नि ?
त्यो संख्या एकै दिनमा निस्किएको होइन । धेरै दिन गरिएको परीक्षणको रिजल्ट निकाल्दा त्यति देखिएको हो । भारतबाट धेरै मान्छेहरु संक्रमित छन् । उनीहरु उतै संक्रमित भए आउँदा सँगसँगै आए । क्वारेन्टाइनमा पनि अलिकति व्यवस्थित नहुँदा सर्न सक्छ । दिनदिनै गरिएको परीक्षणको एकैचोटी रिपोर्ट निकाल्दा धेरै संख्या देखिएको हो ।
कर्णाली प्रदेशले कोरोना रोकथाम र नियन्त्रणको लागि कस्तो गुरुयोजना बनाउँदै छ ?
हाम्रो गुरुयोजना प्रष्ट छ । सबैभन्दा पहिला क्वारेन्टाइनलाई व्यवस्थित गर्ने ।
तर, क्वारेन्टाइनलाई त व्यवस्थित गर्न सक्नुभएन नि ?
कुनै–कुनै ठाउँमा केहीकेही समस्या होला । नत्र भने कर्णाली प्रदेशका जुन पालिकाहरु छन् । ती पालिकाहरुले स्थापना गरेका क्वारेन्टाइन त व्यवस्थित नै छन् त । व्यवस्थित भन्नाले डब्ल्यूएचओको मापदण्ड अनुसार त गर्न सक्दैनौं । तर, पनि यहाँका मान्छेहरुलाई सुरक्षित राखेका छौं । परीक्षणमा अलि ढिला भएको छ । त्यो पनि मेसिनको क्षमताले गर्दा भएको हो । त्यसरी क्वारेन्टाइनमा राखेका लागि परीक्षण गरेपछि जसलाई संक्रमण देखिन्छ उनीहरुलाई आइसोलेसनमा राख्ने र संक्रमण नदेखिएकालाई घर पठाउने । अनि संक्रमितहरुमा जसलाई अलि क्षण देखिएको छ । उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरुमा पठाइन्छ । अब परीक्षणको दायरा बढाउन किट खरिदको लागि बजेट छुट्ट्याएका छौं ।
पीसीआर गर्ने कि आरडीटी गर्ने ?
पीसीआर गर्ने ।
रुकुममा त्यत्रो ठूलो घटना भयो दोषीलाई कारबाही गर्न प्रदेश सरकार किन चाहँदैन ?
रुकुममा दुखद् घटना घट्यो । यसमा कर्णाली प्रदेशले दुःख प्रकट गरिसकेको छ । यसको बारेमा माननीय मन्त्रीज्यूले पनि संसद्मा बोल्नुभएको छ । त्यसको लागि गृय मन्त्रालयले छानविन समिति बनाइसकेको छ । मृतकका परिवारलाई सहयोग गर्ने पनि हामीले कमिट्मेन्ट गरिसकेका छौं । अर्को घाइतेहरुको उपचारमा पनि हामीहरु लागिरहेका छौं । अब छानविनबाट कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्छ भनेर हामीले भनिरहेका छौं ।
तपाईंहरु त घटनाका दोषीलाई बँचाउँदै हुनुहुन्छ रे नि ?
अपराधीलाई बचाउने काम सरकारले कहिल्यै गर्दैन । कुनै पनि दोषीलाई संरक्षण गर्ने कुरा पूर्ण रुपमा झुटो हो । दोषीलाई कारबाही संघीय सरकारलाई सहयोग गर्न तयार छौं त्यसको लागि हामी प्रष्ट  छौ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार