बेलायतका विज्ञ भन्छन्–कोरोना संक्रमितलाई बचाउने पहिलो औषधि भेटियो

बेलायतका विज्ञ भन्छन्–कोरोना संक्रमितलाई बचाउने पहिलो औषधि भेटियो

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोना भाइरसविरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने विज्ञहरुले बताएका छन् ।

कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो । अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरुदेखि बेलायतमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् ।

यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड-१९ का संक्रमित देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने अपेक्षा गरिएको छ ।

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्सले मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ नभएको र यो खासै महँगो पनि नभएको बताएका छन् । उनले भने, “यो खुसी मनाउनुपर्ने विषय हो । किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन् । त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको हो ।”

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।

कोभिड-१९ को संक्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ । सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ ।

कोरोनाविरुद्धको १३५ खोपहरु भने परीक्षणकै चरणमा छन् । यस वर्षको अन्तिमसम्म खोप विकास हुनसक्ने अपेक्षा गरिएको छ । बिबिसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार