आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी

आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी

असार ९ काठमाडौ
भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्।  मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको  एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट  र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे। यो औषधीले (कोभिड-१९) का बिरामी निको हुने कम्पनीको दाबी छ।

क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले  बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ। ‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो। हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधी तयार गर्‍यौं,’ रामदेवले भने,‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको हो। यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ। हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं।’ रामदेवले  कोभिड- १९ निको हुन्छ भनेर दाबी गरिएको औषधीको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधी खाएर निको भएको बताइएको छ।

रामदेवले औषधी दिनुभन्दा पहिला बिरामीको पूर्वस्वीकृति लिएको बताए।  भारत सरकारले रामदेवको औषधीलाई औपचारिक रूपमा मान्यता दिने निर्णय गरिसकेको छैन। सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानदेखि फैलिएको कोभिड-१९ को महामारीबाट अहिलेसम्म ९२ लाख मानिसहरू संक्रमित भएका छन् भने चार लाख ७४ हजारको मृत्यु भएको छ। संसारभरका वैज्ञानिकहरू कोरोना भाइरस विरूद्धको भ्याक्सिन र औषधी बनाउन जुटेका छन् तर सफलता मिलिसकेको छैन।

यसअघि बेलायती अनुसन्धानकर्ताहरूले सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको दाबी गरेका थिए। एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार