कोरोना भाइरसबाट जोगिन सुनको मास्क

कोरोना भाइरसबाट जोगिन सुनको मास्क

भारत । अहिले भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्र भारतमा झन्डै २५ हजार मानिसमा संक्रमण भएको छ। विश्व स्वास्थ्य संगठनले मास्क लगाउँदा संक्रमण रोक्न धेरै सहयोग पुग्ने बताएको छ।

कोरोनाभाइरसको संक्रमण रोक्न भारतमा एकजनाले भने सुनको मास्क लगाउन थालेका छन्।

पुनेका शंकर कुरहडे नामका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन्। ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको थियो।

‘यो पातलो मास्क हो र स-साना प्वालहरूले मलाई स्वास फेर्न सजिलो भएको छ,’ शंकरले समाचार संस्था एएफपीलाई भनेका छन्,’मलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन यो मास्क प्रभावकारी छ भन्ने यकिन छैन तर म अन्य सावधानी अपनाइरहेको छु।’

४९ वर्षीय ब्यापारी घरबाट बाहिर निस्किदा सुनका ब्रेसलेट, नेकलेस, औंठीलगायत गहना लगाउँछन्।

समाचारमै कसैले चाँदीको मास्क बनाएर लगाएको थाहा पाएपछि उनले पनि सुनको मास्क बनाउन दिएका हुन्।

‘अहिले मान्छेहरू मसँग सेल्फी खिच्ने भन्छन्,’ उनले भने,’बजार जाँदा सुनको मास्क लगाएको देखेर उनीहरू अचम्मित हुन्छन्।’

भारतले अहिले सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ।

भारतमा आइतबारसम्म ६ लाख ७५ हजार बढी संक्रमित छन् भने १९ हजारले ज्यान गुमाइसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार