मनकारी तिर्थ

मनकारी तिर्थ

काठमाडौं । कुनै पर्व होस् या दिवस । युवा व्यवसायी तिर्थ सुनार वीरेन्द्रनगरस्थित साझाघरमा पुगिहाल्छन् । विशेष अवसरमा उनी त्यहाँ पुग्नुको कारण हो– ‘साझाघरमा आश्रय लिइरहेकालाई सहयोग गर्नु ।’

साझाघरमा पुगी तिर्थले दर्जनौंपल्ट बालबालिका, असहाय, बृद्धलगायतलाई सहयोग गरिरहेका छन् । तीर्थको सहयोग यो मात्रै होइन, उनले लकडाउनमा समस्यामा परेका ५० घरधुरीलाई लत्ताकपडा, खाद्यान्न, मास्क र साबुन सहयोग गरे । उनीसँग एक वर्षको अवधिमा झण्डै १ सय जनालाई सहयोग गरेको तथ्यांक छ । ‘गरिब, दुःखीको पीडा देख्नै सक्दैन,’ उनले भने, ‘त्यसैले सानैदेखि आफूलाई पुगोस् वा नपुगोस् समस्यामा परेकालाई सहयोग गर्ने बानी बसेको छ ।’

दैलेखको दुल्लु नगरपालिका ११ का सुनारले वीरेन्द्रनगरमा १२ वर्षदेखि न्यू दैलेखी पञ्चकोशी कालभैरव आभुषण कला केन्द्र सञ्चालन गरिरहेका छन् । राजनीतिमा पनि सक्रिय उनले समाजसेवाबाटै आफूलाई आत्मसन्तुष्टि मिलेको बताए । उनैको सहयोगबाट आश्रयघर चलाउन सहयोग पुगेको साझाघरका महासचिव विनोद चौलागाई बताउँछन् । ‘संस्था चलाउन हम्मेहम्मे थियो,’ उनले भने, ‘तिर्थजीको सहयोगले आश्रम र आश्रितलाई धेरै ठूलो राहत मिलेको छ ।’
नेकपा दुल्लु नगर कमिटी सदस्यसमेत रहेका सुनार विभिन्न सामाजिक अभियानमा पनि सक्रिय छन् । यस वर्ष उनले तल्लो डुंगेश्वरस्थित पञ्चकोशी युवा क्लवलगायत आधा दर्जन संस्थालाई विभिन्न अभियान सञ्चालन गर्न नगद सहयोग प्रदान गरे ।

 

‘विभेद, उत्पीडन र अनियमितताविरुद्धका सामाजिक अभियानमा पनि सक्रियता जनाइरहेको छु,’ उनले भने, ‘अरुको आँखामा आशु देख्न नसक्ने भएकाले होला, पीडित, गरिब र दुःखीलाई आफूले सक्ने सहयोग गरिरहेको छु ।’
प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका तिर्थ आमा मैनकला सुनार र बुवा सरु सुनारका राईलो सन्तानको रुपमा २०४९ बैशाख २ गते जन्मिएका हुन् । बन्डाली देवताका धामीसमेत भएकाले आफूमा समाजसेवी भावना कायम रहेको उनले सुनाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार