म्याग्दी पहिरोमा बेपत्ता थप एकजनाको शव भेटियो

म्याग्दी पहिरोमा बेपत्ता थप एकजनाको शव भेटियो

तस्बिर: रासस

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा चार दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ ।

मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । मराङका १९, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको छ ।

पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सातजनाको बेनी अस्पताल, एकजनाको काठमाडौँ र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार