एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

फाईल फोटो

नारायणगढ । मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ। आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो। सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो।

उनले १७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको बताए।  सो ठाउँमा सडक नौ मिटर फराकिलो छ। सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए।

सो ठाउँमा वि।सं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो। यसैमा समस्या आएको जनाइएको छ। सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो। दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो।

सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ। ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुई पटक बोलपत्र आह्वान गर्दासमेत कोही पनि नआएको बताए।  प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्नसक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ।

ठेक्का नपरेपछि यस वर्षको वर्षातमा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको हो।  भासिएको क्षेत्र बढेमा वर्षातको समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो। यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो। सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार