१८ मिनेट भित्रै पाँच गोल, म्यानचेस्टर सिटी ८–० ले विजयी

१८ मिनेट भित्रै पाँच गोल, म्यानचेस्टर सिटी ८–० ले विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ८–० ले पराजित गरेको हो ।

पहिलो हाफ, त्यो पनि सुरुको १८ मिनेट भित्र पाँच गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले १५, ४८ र ६० औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

खेल सुरु भएको ५२ औँ सेकेण्डमा डेविड सिल्भाले गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । सातौँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो अग्युरोले गोल गरे । यस्तै रियाद महरेजले १२ औँ, निकोलास ओतामेन्डीले १८ औँ तथा केविन डी ब्राउनले ८५ औँ मिनेटमा गोल गरेको हो । गार्डिवला सन् २०१६ मा प्रशिक्षकका रुपमा आए यता लिगामा सिटीको सबैभन्दा फराकिलो जित हो ।

यो खेलमा सिटीले दुई वटा वुडवर्क पनि प्रहार गरेको थियो । उसले लिगमा सबैभन्दा फराकिले जितको कीर्तिमान भने बनाउन सकेन । सन् १९९५ मा म्यानचेस्टर सिटीले इप्सविचलाई ९–० ले हराएको थियो, त्यो नै हालसम्मको फराकिलो जित हो ।

जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ । पुछारको वाट्फोर्डको ६ खेलबाट मात्रै दुई अंक छ ।

शनिबार राति नै भएको खेलमा टोटनह्याम लेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै लेस्टर सिटी ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

अरु खेलमा शेफिल्ड युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ भने न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

अशोज ५, २०७६ मा प्रकाशित

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार