पत्रकारको सदस्यता सिफारिस र नवीकरण साउन मसान्तसम्म गर्ने सकिने

पत्रकारको सदस्यता सिफारिस र नवीकरण साउन मसान्तसम्म गर्ने सकिने

काठमाडौं। नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ ।

गत वैशाखका लागि तय गरिएको सो भेला रोकिएको र २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती गतिविधिका बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बिहीबार सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरलगायतका विविध विषयमा छलफल गरेको थियो ।

महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।

कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासङ्घको मिसन सबै प्रदेशमा परिचालित हुने महासङ्घले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासङ्घ केन्द्रकातर्फबाट रु। तीस लाख र महासङ्घ बेलायत शाखाबाट रु। बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वच्छिक योगदान गर्न चाहने महासङ्घका शाखा र सरोकारवालालाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय पनि गरिएको छ ।

महासङ्घले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार