नेतृत्वका लागि मोर्चा कस्दै कांग्रेस नेता

१४ औं महाधिवेशन

नेतृत्वका लागि मोर्चा कस्दै कांग्रेस नेता

१४ औं महाधिवेशन

काठमाडौँ ।  पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको संगठन समायोजनको काम अझै सकिएको छैन। काम अघि नबड्दा आगामी फागुनका कांग्रेसको १४औं महाधिवेशन हुनेमा आशंका बढ्दै गएको छ। तर, नेताहरूले भने सो महाधिवेशनको जोडघटाउ र मोर्चाबन्दी सुरु गरेका छन्।

महाधिवेशनमा सभापतिको प्रत्याशी को को बन्छन् भन्ने अझै यकिन नभए पनि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाका साथै शेखर कोइराला, रामशरण महतसहितका आकांक्षी छन्। नेतृत्वका लागि अन्तिम प्रतिस्पर्धा को–कोबीच हुन्छ भन्ने अझै अनिश्चित छ। तर, सबैले आआफ्नो ढंगबाट सक्रियता बढाएका छन्।

वर्तमान सभापति देउवाले महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताउँदै आएका छन्। आमजनता र पार्टीभित्र देउवाको पक्षमा सकारात्मक माहोल नभएको भन्दै केही उनका निकटवर्तीले प्रतिस्पर्धा नगर्न सुझाउँदै आएका छन्। नेतृत्व हस्तान्तरणका लागि देउवालाई सुझाउँदै आए पनि उनले भने महाधिवेशन लक्षित भेटघाट बढाउँदै लगेका छन्।

आफू पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भए पनि सभापति देउवासँगको छलफलपछि मात्र नेतृत्व प्रतिस्पर्धाको विषयमा टुंगो लगाउने उपसभापति विमलेन्द्र निधिले बताउँदै आएका छन्। देउवा नेतृत्वका लागि खडा नभए आफू मैदानमा उत्रिने उनले बताएका छन्।

अहिलेको परिस्थितिमा सर्वसम्मतले नेतृत्व चयन होस् भन्ने चाहना छ। त्यस्तो नभए शेरबहादुर देउवासँग छलफल गरेर निर्णयमा पुग्छु। –उपसभापति विमलेन्द्र निधि

कम्युनिस्ट नेतृत्व वर्तमान सरकार र पार्टी संविधानसभाबाट प्राप्त नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागिरहेकाले परिवर्तनको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने उनले बताउँदै आएका छन्। संविधान, राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीलाई आगामी निर्वाचनमा जिताउने मुख्य अजेन्डासहित १४औं महाधिवेशनमा केन्द्रित हुनुपर्ने जनाउँदै उनले भने, ‘गुटउपगुट भन्दा माथि उठेर महाधिवेशन केन्द्रित हुनुपर्छ।’

सभापति देउवा इतर समूहमा सभापतिका आकांक्षी धेरै छन्। नेता पौडेलदेखि महतसम्मले नेतृत्वका लागि आफूलाई कुनै न कुनै ढंगबाट प्रस्तुत गर्दै आएका छन्। देउवा इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए नेतृत्वमा पुग्न नसकिने निष्कर्षमा उनीहरू छन्। तर, एकले अर्काका लागि नेतृत्वमा स्वीकार गरेर अघि बढ्ने अवस्थामा अहिलेसम्म उनीहरू पुगेका छैनन्। नेता पौडेल, शशांक, शेखर, प्रकाशमान, रामशरण, अर्जुननरसिंह केसी र सुजाता कोइरालालाई एक ठाउँमा ल्याउन कांग्रेसका नेताहरू सक्रिय भएका छन्।

त्यति मात्र होइन, १३औं महाधिवेशनमा तत्कालीन संस्थापनसँग विद्रोह गरी सभापतिका प्रत्याशी पूर्वमहामन्त्री सिटौलालाई पनि संस्थापन इतरको मोर्चामा गोलबद्ध गराउने प्रयास जारी छ। सोहीअनुसार नेपाल टे«ड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको पहलमा शुक्रबार पनि नेताहरूको भेला भएको थियो। सो भेलामा सिटौलाबाहेक सातजना नेता सहभागी थिए। सिटौलाले आफ्नो छुट्टै समूह रहेको जनाउँदै गुटको भेलामा आफू सहभागी नहुने जनाएको स्रोतको दाबी छ।

भेटघाट भएको हो। महाधिवेशनमा सबै मिलेर एकै ठाउँमा उभिनुपर्छ भन्ने आवाज आइरहेको भए पनि अहिले नै निष्कर्षमा पुगिएको छैन। –केन्द्रीय सदस्य अर्जुननरसिंह केसी

सात जना उपस्थित भेलामा सभापति देउवा पार्टी विधान र निर्वाचन आचारसंहिताविपरीत अहिले पनि विभागलाई पूर्णता दिइरहेको जनाउँदै त्यसमा सहभागी नहुने निष्कर्ष निकालेका छन्। आफूनिकट नेता र कार्यकर्तालाई कुनै पनि विभाग तथा समितिमा नबस्न आग्रह गर्ने र त्यसका लागि निकट केन्द्रीय सदस्यको भेला आइतबार बोलाउने समझदारी गरेका छन्। विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेको बहानामा सभापति देउवाले जताभावी सदस्यता दिन लागिपरेको भन्दै त्यसमा पनि विशेष निगरानी गर्ने निष्कर्ष निकालेका छन्।

मिलेरै महाधिवेशनमा जान आफूहरू तयार रहे पनि को कसरी भन्ने विषयमा खासै छलफल नभएको बताउँदै सहभागी एक नेताले भने, ‘महाधिवेशन केन्द्रित विशेष रणनीति बनाएर जाने समझदारी बनेको छ।’

तर, भेलामा सहभागी नेता केसीले भेटघाट भए पनि कुनै निर्णय नभएको दाबी गरे। ‘सिटौलाजी आउनसक्नु भएन। हामी ६÷७ जनालाई चियापानका लागि बोलाइएको थियो। भेटघाट भएको हो तर कुनै निर्णय भएको छैन,’ केसीले भने, ‘अहिलेको रितिस्थिति, परिस्थिति, महाधिवेशन, कोरोना, सरकारका विषयमा कुरा भयो।’

महाधिवेशनमा सबै मिलेर जानुपर्छ। एकै ठाउँमा उभिनुपर्छ भन्ने आवाज आइरहेको जनाउँदै केसीले थपे, ‘सबैलाई जुटार लैजाने प्रयास हो भन्ने कुरा पनि आएको थियो। मिलेर जानुपर्छ भन्ने भयो पनि तर निष्कर्षमा पुगिएको छैन।’

१३औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका केसी पछिल्ला दिनमा असन्तुष्ट छन्। देउवा इतर समूहलाई मिलाउन सक्रिय रहेका केसीले नेता सिटौलासँगको छलफलका लागि मध्यस्थता गरेका थिए। केही समयअघि पौडेल, सिटौलासहित आठ जना नेतालाई उनकै पहलमा नुवाकोट सभापतिसमेत रहेका भाइ जगदीश्वर नरसिंह केसीनिवासमा साँझको खानासहित भेटघाट राखेका थिए। त्यसपछि आठ जना नेतालाई जोड्न सांसद दिव्यमणि राजभण्डारीले पनि साँझको खानासहितको त्यस्तै भेला गरेका थिए।

सो भेलापछि सिटौलाले देउवाविरोधी मोर्चामा आफ्नो साथ र सहयोग रहने आश्वासन दिए पनि भोलिपल्ट पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको केन्द्रीय सदस्यहरूको भेलामा सहभागी भएनन्। बरु निकट केन्द्रीय सदस्यलाई पठाएर आफ्नो छुट्टै समूह रहेकाले भेलामा सहभागी नहुने सन्देश पठाएका थिए।

निकटवर्तीहरूसँग शेरबहादुर देउवाबाट पार्टी अघि बढ्न नसक्ने बताउँदै आएका सिटौलाको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ, निश्चित छैन। १३औं महाधिवेशनबाट निर्माण भएको समूहलाई बलियो बनाउन सिटौलाले जोडबल लगाइरहेका छन्।

तर, सिटौला समूहमा रहेका गगनकुमार थापासहितका केही नेताहरू संस्थापन इतर समूहलाई एकै ठाउँमा उभ्याउने पक्षमा छन्। सिटौला आफैं पनि आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी बन्न मात्र उम्मेदवारी दिने पक्षमा नरहेको निकट स्रोतको दाबी छ। तर, उनले महाधिवेशन लक्षित गरेर केही दिनअघि महाराजगन्जमा सम्पर्क कार्यालय खोलेका छन्। बिहान ९ बजेदेखि ४ बजेसम्म सिटौलाले त्यहीँ नेता तथा कार्यकर्तासँग भेटघाट थालेका छन्।

आगामी महाधिवेशन र त्यसपछि पार्टीमा आफ्नो समूहको भूमिका निर्णायक बनाउने रणनीतिमा रहेको सिटौला संस्थापन पक्षबाट देउवा सभापतिको प्रत्याशी नबन्ने र इतरपक्षबाट पनि दुईभन्दा बढी उम्मेदवार बन्ने अवस्थामा मात्र नेतृत्व प्रतिस्पर्धाका लागि मैदानमा उत्रिनसक्ने निकटहरूको बुझाइ छ। नेता पौडेललाई स्वीकार गरेर सिटौला अझै अघि बढ्ने जस्तो नदेखिएको सुनाउँदै ती नेताले भने, ‘सभापतिसँग पनि उहाँको मोहभंग भएको छ। कसरी अघि बढ्ने भन्ने अहिलेसम्म अन्योल नै छ।’ (नागरिक दैनिकबाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार