सोती घटनाका पीडितलाई पाँच लाख सहयोग

सोती घटनाका पीडितलाई पाँच लाख सहयोग

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाका मृतक तथा घाईते परिवारलाई कलाकारहरुले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीलाई उक्त रकम हस्तान्तरण गरेका छन ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई पचास हजार रुपैयाँका दरले तीन लाख, प्रत्येक घाईतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्ती मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भने, २१ औँ शताब्दीमा आएर पनि १६ औँं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।

पूर्वमन्त्री जितु गौतमले सोती घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अदालतले फैसला गरेको भन्दै आपत्ती जनाए । उनले न्यायालय शंकाको घेरामा रहेको तर्क गरे । कलाकार संघले गरेको सहयोग हस्तातरण कार्य अति नै विवेकशील भएको उनको भनाई छ ।

यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशबाट जातीय विभेद अन्त्य गर्नुपर्ने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए । धमलाले भने,‘देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भुमिका निभाउनुपर्छ ।’ उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने र पीडितले न्याय पाउनैपर्ने आवाज उठाए ।

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । उनले नगरपालिका र आफूले सुरुदेखि नै पीडितहरुलाई न्याय र पीडकहरुलाई कारबाही गर्नेगरि भूमिका निर्वाह गरेको घर्तीले विश्वास दिलाए ।  गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष गायक यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम संकलन गरिएको जानकारी दिए ।

जेठ १० गते भएको घटनामा सोती निवासी मल्ल थरकी युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा गाउँलेको कुटपिटबाट ६ जनाको मृत्यु भएको थियो । मृतक सबैको शव भेरी नदीमा भेटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार