वाह! नगरपालिका होस त यस्तो पाे

वाह! नगरपालिका होस त यस्तो पाे

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन  विना धितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । विदेशबाट फर्किएका बेरोजगार युवालाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु साे कर्जाबाट लाभान्वित हुने नगरपालिकाले विश्वास लिएकाे छ ।

कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भइरहँदा नगरपालिकाले स्वरोजगार बन्न चाहने युवालाई नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चारलाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

नगरपालिकाले पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै सात सय मध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको नगरपालिकाले जानकारी दिएको छ ।

शुक्रबार नगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण गरेका छन् । नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगोरुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गरेका छन ।

यस्तै प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले बताए । तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना रहेको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार