कृषि कर्म गर्नेले अब निराश हुनुपर्दैन, नयाँ व्यवस्था आउँदैछ : कृषिमन्त्री भुसाल

कृषि कर्म गर्नेले अब निराश हुनुपर्दैन, नयाँ व्यवस्था आउँदैछ : कृषिमन्त्री भुसाल

झापा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गर्नुभयो ।

उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो । ‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनुपर्दैन’, मन्त्री भुसालले भन्नुभयो, ‘कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।’

कृषि क्षेत्रमा अहिले सयौँ समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई/तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राख्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैबाट सुशासनकाे काम सुरु गरेको बताउनुभयो ।

सरकारले ठिक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताउनुभयो । ‘सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ’, मन्त्री भुसालले भन्नुभयो, ‘यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठिक ढङ्गले सञ्चालन भइरहेका छन् ।’ रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार