यस वर्षको एसईई परीक्षा कसले र कसरी सञ्चालन गर्ने भन्ने अन्योल

यस वर्षको एसईई परीक्षा कसले र कसरी सञ्चालन गर्ने भन्ने अन्योल

फाईल तस्वीर

 

काठमाडौं । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल उत्पन्न भएको छ । बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षा सम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्रध्यापक डा.चन्द्रमणि पौडेलले आफूहरु अन्योलमा रहेको भन्दै यसबारेमा छिटो निर्णय गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाएको बताउनु भएको छ । तर कुनै जवाफ नआएकाले रोकिएको उहाँको भनाइ छ । यस वर्षको एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन ।

शिक्षा मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयकमा एसईई प्रादेशिकस्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो ।

मन्त्रालयले यसबीचमा शिक्षाविद् र प्रदेशका सचिवहरूसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा गत वर्ष जथाभावी अङ्क दिइएकाले विद्यालयलाई मूल्याङ्कनको जिम्मा दिन नमिल्ने, विद्यालयलाई नै जिम्मेवारी दिइसकेकाले अब यही विधिलाई निरन्तरता दिइनुपर्ने, कानुनतः माध्यमिक तहसम्मको जिम्मेवारी प्रदेश सरकारको हुने भएकाले त्यही अनुरूप अगाडि बढ्नुपर्ने मिश्रित सुझाव दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार