डिजेल तस्करको आक्रमण बाट प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

डिजेल तस्करको आक्रमण बाट प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

काठमाडौँ । मोरङको जहदाँ गाँउपालिकामा तस्करले आक्रमण गर्दा एक प्रहरी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिका हुँदै भारततर्फ डिजेल लैजाने क्रममा शनिबार साँझ तस्करले आक्रमण गर्दा असई (प्रहरी सहायक निरीक्षक) रामकुमार माझी घाइते भएका हुन्।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले तस्करी गरेर भारततर्फ डिजेल लैजाँदै गर्दा गाँउपालिका–७ का २१ वर्षीय बब्लु साहले प्रहरी चौकी मझारेका प्रमुख एवं इन्चार्ज माझीमाथि आक्रमण गरेको जानकारी दिए। शनिबार बेलुका साढे ६ बजे भएको सो घटनामा तस्करले प्रहरीको हत्या गर्ने गरि आक्रमण गरेको उनले बताए।

प्रवक्ता राईका अनुसार साँझ नेपालबाट भारततर्फ डिजेल तस्करी भइरहेको सूचनाका आधारमा घटना रोक्न माझी कार्यालयको बा।२ ब ५६२८ नम्बरको मोटरसाइकलमा त्यसतर्फ गएका थिए। माझीको पछाडि सहयोगका लागि अन्य प्रहरीपनि घटनास्थल पुग्नुपूर्व तस्कर साहले आक्रमण गरेको उनले जानकारी दिए।

तर अन्य प्रहरीको सहायतामा माझीको उद्धार गरिएको र साहलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका साह नेपालबाट भारततिर डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको तस्करी गर्ने गिरोहका नाइके रहेका प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएका माझीको हाल बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते माझीको दुवै आँखामा चोट लाग्नुका साथै नाकको हड्डी भाँचिएको बताइएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार