भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिँदै

भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिँदै

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ। घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए।

भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाईएकोले त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिएका छन ।

भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ। घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। ३ दिनदेखि घटनास्थलमा एसएसपी र सीआईबीका डीएसपीको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान जारी राखेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार