सल्ले घटना : एकजनाको हत्या आरोपमा पक्राउ परेकी महिलाद्वारा दुई महिलाको हत्या गरेको स्विकार !

सल्ले घटना : एकजनाको हत्या आरोपमा पक्राउ परेकी महिलाद्वारा दुई महिलाको हत्या गरेको स्विकार !

मुसिकोट । गत बिहिबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी एक महिलाले पाँच वर्ष अघि पनि सोहि ठाउँमा अर्की महिलाको हत्या गरेको बताईएको छ ।

२०७५ असार १० गते ४६ वर्षिया आईती बुढाको घरमै हत्या भएको र हालसम्म पनि हत्यारा पत्ता लाग्न सकेको थिएन। बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी सोहि गाउँकी २३ वर्षिया सिर्जना बुढा बोहराले नै दुबै महिलाको हत्या गरेको प्रहरीको भनाई रहेको छ ।

गत साउन १८ गते हत्या गरिएकी ५२ बर्षिया हस्तकली बुढाथोकी र २०७५ असार १० गते हत्या गरिएकी ४६ वर्षिया आईती बुढाको हत्या बोहराले नै गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । प्रहरीका अनुसार बोहराले दुबै जनाको हत्या गरेको स्विकार गरेकी छिन् ।

डिएसपी भट्टराईका अनुसार हस्तकली बुढाथोकी र आइती बुढाको हत्या सिर्जनाले नै गरेको आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेको हो । पाँच वर्ष अघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपी सिर्जनाले प्रहरी समक्ष दिएकीछिन् ।

दुबै महिलाको हत्याको उद्धेश्य र प्रकृति एउटै रहेको प्रहरीको भनाई रहेको छ । गहना र पैसा लुट्ने उद्धेश्यले दुई जनाको हत्या गरिएको हो । गत बिहिबार राती हस्तकलीलाई सुतेको अवस्थामा ढुङगा (लोेरो) ले कञ्चटमा हानेर हत्या गरेपछि सिर्जनाले मोबाईल, नगद रुपिँया र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिईन् ।

डिएसपी भट्टराईका अनुसार यस्तै उद्धेश्य र प्रकृतिबाट पाँच वर्ष अघि बुढाको हत्या गरिएको हो । त्यो बेला बुढालाई बोहराले सुरुमा चौखी (पिर्का) ले टाउकोमा प्रहार गरेकी थिईन् । बेहोसीमा रहेकी आईतीले प्रतिकार गर्न खोजेपछि सिर्जनाले खाटमुनि रहेको बञ्चरो र बाउसो निकालेर अन्धाधुन्द प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ । हत्या लगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर सिर्जना राती नै आफ्नो घर गएकी थिईन् ।

गत बिहिबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राती मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा महिला मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठ अनुसन्धान अधिकृत रहेको प्रहरी टोली र प्रहरी बरिष्ठ नायब निरिक्षक नारायण प्रसाद शर्माको नेतृत्वमा रहेको बिशेष प्रहरी टोली घटनाको बिशेष अनुसन्धान गरेको थियो ।

प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्रव शिर्षकमा मुद्धा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

यसका साथै हत्या गरिएका दुबै जनाको गहना ल्याएर सिर्जनाले खलङगा बजारमा रहेका दुई वटा सुनचाँदि पसलमा बिक्रि गरेको समेत प्रहरीले पत्ता लगाएको छ । बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ ।

राप्ती सुनचाँदी पसलका शोभा कुमारी सुनार सोनी र नारायणी सुन चाँदी पसलका कृष्णबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ परेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार