अस्थायी आवास बनाउन रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ३५ करोड निकासा

अस्थायी आवास बनाउन रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ३५ करोड निकासा

मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये १४ हजार २२४ परिवारका लागि ३५ करोड ५६ लाख रुपैयाँ निकासा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणको लागि जिल्लाका ४ स्थानीय तहको स्थानीय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कोषमा शुक्रबार सम्म पहिलो किस्ता बापत प्रति लाभग्राही २५ हजारका दरले रकम जम्मा गरिसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिकामा चार हजार पाँच सय लाभग्राहीको अस्थायी आवास बनाउन ११ करोड २५ लाख रुपियाँ पठाईएको छ भने चौरजहारी नगरपालिकामा छ हजार २७९ लाभग्राहीको अस्थायी आवास निर्माणका लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाईएको छ ।

त्यसैगरी  त्रिवेणी गाउँपालिका एक हजार १२४ लाभग्राहीको आवास निर्माणका लागि २ करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा दुई हजार ३२१ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि ५ करोड ८० लाख २५ हजार रुपियाँ स्थानीय तहको खातामा जम्मा गरिएको छ ।

भुकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यबिधि, २०८० (दोस्रो संशोधन समेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भई आएका लाभग्राहिको लागि उक्त रकम पठाईएको हो ।

आगामी दिनमा स्थानीय तहवाट समितिको निर्णय भएर लाभग्राही कायम भएको जानकारी जिल्लाको विपद व्यवस्थापन समितिमा प्राप्त भएपछि क्रमशः सम्बन्धित स्थानीय तहको विपद् कोषमा रकम पठाईने प्रजिअ पन्तले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार