अहिलेको गठबन्धन अझै तीन वर्ष टिक्छ : महासचिव गुरुङ

अहिलेको गठबन्धन अझै तीन वर्ष टिक्छ : महासचिव गुरुङ

मुसिकोट । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनमा कुनै पनि समस्या नरहेको स्पष्ट पार्नुभएको छ । पाँच वर्ष मध्ये बाँकी रहेको समयमा पनि गठबन्धनले निरन्तरता पाउने र सरकारको नेतृत्वको विषय आपसी समझदारीमा हुने बताउनु भएको हो ।

आज रुकुम पश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारको नेतृत्व जसले गरे पनि गठबन्धनबाटै हुने महासचिव गुरुङले बताउनुभयो । “ यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन्। तर त्यो काम सफल हुन सक्दैन। यो सरकारलाई जनताले रुचाएका छन्। सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उहाँले भन्नुभयो। भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उहाँको भनाइ थियो।

महासचिव गुरुङ भूकम्पप्रभावित क्षेत्रका पीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्री पुर्‍याउने सिलसिलामा रुकुम पश्चिम पुग्नु भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीले उपलब्ध गराएको राहत सामग्री लिएर आफू आएको उहाँले बताउनुभयो । जाजरकोट र रुकुम पश्चिमका लागि पाँच सय थान राहत सामग्री ल्याएको उहाँले जानकारी गराउनुभयो । उक्त सामग्री रुकुम पश्चिमका दुई र जाजरकोट दुई गरी चार वडामा वितरण गरिने उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा ज्याकेट, प्रेसर कुकर, मञ्जन, ब्रस लगायत गरी एक परिवारलाई २४ हजार बराबरको राहत सामग्री रहेको महासचिव गुरुङ बताउनुभयो । आजै उक्त सामग्री भूकम्प प्रभावित क्षेत्रमा गएर प्रभावितहरुलाई वितरण सुरु गरिने उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा महासचिव गुरुङले समाजवादी दिशामा अग्रसर भएका कम्युनिस्ट पार्टीहरूको एकता जरुरी भएको धारणा व्यक्त गर्नुभयो । यसका लागि समाजवादी मोर्चा बनाएर एकताको प्रयास गरिए पनि मोर्चामा आबद्व दलका बिच तयारी नपुगेका कारण केही समय लाग्ने उहाँको भनाइ छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार