सोति घटना : तीन दिन देखि जारी बहस सकियो, अब फैसलाको चरणमा

सोति घटना : तीन दिन देखि जारी बहस सकियो, अब फैसलाको चरणमा

मुसिकोट । तीन वर्ष अघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा पेशी सुनुवाई बहस सकिएको छ ।

आईतबारबाट रुकुम जिल्ला अदालतमा सुरु भएको पेशी सुनुवाई बहस तीन दिनपछि सकिएको हो । रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोबिन्द प्रसाद कोईरालाका अनुसार आईतबार देखिसुरु भएको निरन्तर सुनुवाइ आज सकिएको हो ।

२०७७ साल जेठ १० गते भएको उक्त घटनामा २१ जना कानून व्यवसायीहरुले बहस गर्नुभएको सूचना अधिकारी कोईरालाले बताउनुभयो । उहाँका अनुसार सरकारी वकिलसहित १५ जनाले जाहेरीवाला (वादी) को तर्फबाट बहस गर्नुभएको थियो भने ६ जनाले प्रतिवादीको तर्फबाट बहस गर्नुभएको थियो ।

जिल्ला अदालतका न्यायाधीस खड्क बहादुर केसीको ईजलासमा तीन दिन लगाएर बहस सकिएको हो । मंगलबार दुबै तर्फका कानून व्यवसायीको बहस सकिएको हो । बहस सकिएसँगै अब उक्त मुद्धा फैसलाको चरणमा प्रवेश गरेको छ । सम्भवतः आजै मुद्धाको फैसला आउने आँकलन गरिएको छ ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर अहिले २३ जना मात्रै रुकुम कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रुकुम अदालतका अनुसार मुद्धा दर्ता भएका मध्य चार जना रुकुम अदालत, दुई जना उच्च अदालत र पाँच जना सर्वोच्च अदालतको आदेशमा छुटिसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार