पर्यटन प्रवर्द्धन गर्न मुसिकोटमा महोत्सव हुँदै

पर्यटन प्रवर्द्धन गर्न मुसिकोटमा महोत्सव हुँदै

महोत्सवको बारेमा जानकारी दिन आयोजन गरिएको पत्रकार सम्मेलन ।

मुसिकोट । आर्थिक गतिविधिको चलायमान तथा स्थानीय उत्पादन र पर्यटन प्रबर्द्धनका लागि रुकुम पश्चिममा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव हुने भएको छ ।

मुसिकोट नगरपालिका १ बराहटाकुरामा रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवद्र्धन मञ्चको सह-आयोजनामा’रुकुम पश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव, २०८०’ हुने भएको हो । बुधबार महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेर उद्योग वाणिज्य संघले विगतमा जिल्लाका विभिन्न स्थानहरुमा आयोजना हुने मेला तथा महोत्सव भन्दा यो बेला बिशेष हुने जनाएको छ ।

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्काले महोत्सवबाट भएको आम्दानीले रोजगार बैंक र अक्षय कोषु स्थापना गर्ने उद्धेश्य राखिएको बताउनुभयो । उहाँका अनुसार कृषि, पर्यटन, जडिबुटी, उर्जा, संस्कृतिको प्रदर्शन, प्रवद्र्धन र यी क्षेत्रहरुको सवालमा विषय विज्ञहरुसँग अन्तरक्रिया तथा गोष्ठि समेत गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि, पर्यटन, उद्योग, व्यापारका क्षेत्रमा काम गर्ने कामदार, कर्मचारीहरुको सेवा सुविधा सुनिश्चितता, बेरोजगार अवस्थाको अध्ययन गरेर स्वरोजगार सिर्जना गर्न रोजगार बैंक स्थापनाको कामलाई अघि सारिएको छ ।

महोत्सवको आम्दानीबाट स्थापित कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृति, उद्योगी तथा व्यवसायीहरुको आपतकालिन अवस्थामा सहयोग लगायतका कार्यमा सहयोग पुग्नेगरी उपयोग गर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा महोत्सव सह-आयोजक कला, संस्कृति, पर्यटन प्रवद्र्धन केन्द्रका डिल्ली परियारले स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित विभिन्न स्थानीय झाँकिहरु समेत प्रस्तुत गरिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनको सञ्चालन रुकुम उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार