‘गुरिल्ला म्याराथन’ को उपाधि अर्जुन र राज्यलक्ष्मीलाई

‘गुरिल्ला म्याराथन’ को उपाधि अर्जुन र राज्यलक्ष्मीलाई

मुसिकोट । सानीभेरी गाउँपालिका रूकुम पश्चिमकोमा सम्पन्न भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले हात पारेका छन् ।

मङ्गलबार जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको म्याराथनमा पुरुष तर्फ राई र महिलातर्फ रावलले जित हासिल गर्नुभएको हो । पुरुष म्याराथनतर्फ सानीभेरी गाउँपालिका –३ बेल्टापुबाट मौराखारा लेक, रिम्ना चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कूल ४८ किलोमिटर लामो दूरी तय गरिएको थियो ।

पुरुष तर्फको म्याराथन ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राईले प्रथम स्थान हासिल गर्नुभएको छ । यस्तै ४ घण्टा ५३ मिनेटमा तोकिएको दुरी पार गर्दै रूकुमपूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुमपश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुमपश्चिमका दुर्गाराज बुढा चौथो हुनुभएको छ ।

महिलातर्फको म्याराथन बेल्टापुबाट सुरु भई मेघा, बलिबाङ, रिम्ना, चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कुल ३६ किलोमिटर लामो दूरी तय गरिएको थियो । उक्त दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुमपश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तेस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुमपश्चिमकी कविता बस्नेत चौथो हुनुभएको छ ।

पुरुष तर्फका विजेतामध्ये प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दसौँ स्थानसम्मका विजेतालाई तीन हजार नगद प्रदान गरिएको सानीभेरीका गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीले जानकारी दिनुभयो ।

प्रवक्ता घर्तीका अनुसार महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार रुपियाँ उपलब्ध गराइएको छ । सबैलाई मेडल तथा प्रमाणपत्रका साथै दसौँ स्थानसम्मका विजेतालाई नगद तीन हजार रुपियाँ प्रदान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार