मेघा पुल नबनाउने ठेकेदारको ५९ लाख जफत

विकास निर्माण

मेघा पुल नबनाउने ठेकेदारको ५९ लाख जफत

विकास निर्माण

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुलको काम सम्झौता भएको नौ वर्ष हुँदा पनि काम सुरु भएको छैन । दुई वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि नौ वर्षसम्म पुल निर्माणको काम सुरु नै गरिएको छैन ।

सडक डिभिजन कार्यालय चौरजहारी मार्फत खोलिएको मेघा पुल निर्माणको ठेक्का सपना सैलुङ जेभी काठमाडौँले पाएको छ । सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार उक्त निर्माण कम्पनीले २०७१ साल मङ्सिर २ गते गरिएको सम्झौतामा २०७३ पुस २ मा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

उक्त मितिमा काम नगरेकाले २०७७ पुस १३ सम्मका लागि म्याद थप गरिएको थियो । उक्त मितियता पनि काम सुरु भएको छैन । १२० मिटर लामो आरसीसी पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदारको ५९ लाख जफत

यस्तै काम नगरेपछि सडक डिभिजन कार्यालय चौरजहारीले सपना शैलुङ जेभी काठमाडौँको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरेको हो । नौ वर्षसम्म काम नगरेपछि अग्रिम भुक्तानी ग्यारेन्टी सरकारी राजस्वमा जम्मा गरिएको हो ।

सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख शर्माका अनुसार सपना शैलुङ जेभीको अग्रिम भुक्तानी ग्यारेन्टी बापतको ५९ लाख रुपियाँ सरकारको राजस्व खातामा ल्याइएको छ ।  यस योजनाको हालसम्म करिब तीन प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको छ । डिभिजन प्रमुख शर्माले सुरुको वर्ष ‘पायल’ फाउन्डेसनको काम सुरु गरेको निर्माण कम्पनीले करिब ४५ लाख रुपियाँ भुक्तानी लिएको बताउनुभयो ।

लामो समयसम्म कामको प्रगति नभएको र म्यादसमेत थप नभएकाले सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जमानतसमेत जफत गरेर ठेक्का तोड्ने प्रक्रियामा गएको बताइन्छ । यस प्रक्रियामा अदालतले भने अङ्कुश लगाएको छ । जिल्ला अदालत ललितपुरले हाललाई जमानत ग्यारेन्टी फिर्ता नलिनू भनेर अन्तरिम आदेश गरेपछि थप कारबाहीको प्रक्रिया रोकिएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।

सम्झौता भएको नौ वर्षसम्म पक्की पुल निर्माणको काम नै नभएपछि सर्वसाधारणले सास्ती पाउँदै आएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार