रुकुम महोत्सवको तयारी तिब्र, औद्योगिक प्रदर्शनी समेत हुने

रुकुम महोत्सवको तयारी तिब्र, औद्योगिक प्रदर्शनी समेत हुने

गत वर्ष बराहाटाकुरामा आयोजना गरिएको महोत्सव । फाईल फोटो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहटाकुरामा हुने कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० को तयारी तिब्र पारिएको छ । रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा फागुन १८ गतेदेखि २८ गतेसम्म महोत्सव हुने भएको हो ।

उक्त महोत्सवमा फागुन १९ र २० गते औद्योगिक प्रदर्शनी प्रतियोगिता समेत हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले औद्योगिक प्रदर्शनी प्रतियोगिता गर्न लागेको हो । कार्यालयका प्रमुख मानबहादुर खत्रीका अनुसार प्रतियोगितामा जिल्लाभरका १५ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीका लागि राखिनेछ ।

त्यसका आधारमा उत्कृष्ट उत्पादनलाई छनौैट गरेर पुरस्कृत गरिने कार्यालय प्रमुख खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्य राखिएको छ ।

यो कार्यक्रमबाट स्थानीय उद्योगबाट उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख खत्रीले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय तहले छनोट गरेर पठाएका उद्यमीहरूले प्रतियोगितामा भाग लिन पाउने छन् । यस प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन् । साथै सबै उद्यमीहरूलाई आउने, जाने, बस्ने तथा खानाको व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

महोत्सवको अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने महोत्सव सह आयोजक सस्था कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका डिल्ली परियारले जानकारी दिनुभयो । महोत्सवमा नायक पल शाह लगायतका कलाकारहरु आउने पक्का भईसकेको उहाँको भनाई छ ।

यसैगरी महोत्सव अवधिभर संयुक्त एम्बुलेन्स चालक संघ निःशुल्क एम्बुलेन्स सेवा दिने जनाएको छ । संघका अध्यक्ष कृष्ण कुमार ददेलले महोत्सवमा हुन सक्ने सम्भावित जोखिम स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संघले महोत्सव अवधिभर एम्बुलेन्स तयारी अवस्था राख्ने बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार