कांग्रेसका मन्त्रीले आफैं राजीनामा नदिने

कांग्रेसका मन्त्रीले आफैं राजीनामा नदिने

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको बताएका छन्। सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी पूर्वपदाधिकारी र शीर्ष नेताको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन्।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं। प्रतिपक्षमा रमाउछौं।’

गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैं राजीनामा पनि नदिने उनको भनाइ छ।

‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने? जे-जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ’, लेखकले भने।

प्रधानमन्त्री दाहाल आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा गरेका छन्। नयाँ सत्ता गठबन्धनमा चार जना उपप्रधानमन्त्री हुने तयारी रहेको जनाइएकाे छ।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हाे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार