आठबिसकोटमा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु

आठबिसकोटमा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु

आठविसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ राडीमा कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा महोत्सव सुरु भएको हो ।

बिहिबार एक समारोहका बिच जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सव संयोजक तुल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उप प्रमुख विकको प्रमुख आतिथ्यता रहेकोमा आठबिसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको विशेष आतिथ्यता रहेको थियो ।

आठबिसकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक बटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय झाँकीहरू प्रवर्द्धन गरिएको थियो भने मार्सल आर्ट तर्फका विभिन्न खेल कौसल प्रदर्शन गरिएको थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका रुकुम पश्चिमका सचिव तारक शाही, एमाले प्रदेश कमिटि सदस्य गंगाराम चनारा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य प्रेमजंग शाह, ईलाका प्रहरी कार्यालय आठविसकोटका प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, उद्योग बाणिज्य संघ आठविसकोटका अध्यक्ष दिनेश चन्द, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा आज चर्चित गायक तथा मोडल रामजी खाँडको  प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा ५० बढी स्टल रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार